
५ पुस, काठमाडौं। विद्यार्थी संगठनहरूले गेटमा ताला लगाएपछि त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राई कार्यकक्षमा छिर्न पाएका छैनन् । त्रिवि मैदानमा भइरहेको क्रिकेट प्रतियोगिताको पार्किङ शुल्कको विषयलाई लिएर पाँच वटा विद्यार्थी संगठनले कार्यालयमा ताला लगाएका हुन्।
शुक्रबार दिउँसो कार्यालयको प्राङगणबाटै सेवा प्रवाह गरिरहेका थिए उनी। ‘बाहिरै बसेका छौँ। भित्र छिर्न पाएको छैन। बाहिर बसेर के काम हुन्छ र,’ प्रिन्सिपल राईले भने।
त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले एनपीएलको पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोप लगाउँदै छानबिनको माग राखेर पाँच वटा विद्यार्थी संगठनले २५ मंसिरमा ताला लगाएका हुन्।
ताला लगाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् । माओवादी, नेकपा एस लगायतका विद्यार्थी संगठन हुन्। यही विषयमा प्रिन्सिपल कार्यालयसँगै स्ववियूको कार्यालय र रजिस्ट्रार कार्यालय अन्तर्गतको सामान्य प्रशासन महाशाखामा पनि ताला लगाइएको छ ।
‘प्रन्सिपल कार्यालय र महाशाखाले पार्किङको व्यवस्थापनको जिम्मा स्ववियूलाई दिएको रहेछ। स्ववियू र विद्यार्थी संगठनको बदानम हुनेगरी पार्किङ शुल्क उठाएपछि छानबनि समिति बनाउन माग राखोका थियौं। माग सम्बोधन नभएपछि ताला लगाएका हौँ,’ त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले भने।
पार्किङको व्यवस्थापन गर्न स्ववियुलाई अनुमति दिएको तर शुल्क उठाउने विषयमा केही नभनेको तर्क प्रिन्सिपल कार्यालयको छ। ‘शुल्कबारे केही भनेको छैन । तर, शुल्क लिएको कुरा आएपछि विद्यार्थी संगठनहरूले ताला लगाउनु भयो,’ प्रिन्सिपल राईले भने।
स्ववियु र विद्यार्थी संगठनले निःशुल्क पार्किङ गर्न प्रस्ताव राखे पनि स्ववियुका पदाधिकारीको मिलिमतोमा पहिलो दिन पार्किङ शुल्क उठाएको ऐरको आरोप छ ।
‘कारको १००, बाइकको ५० र हेल्मेटको ३० को दरले शुल्क उठाएकाले सो रकम विश्वविद्यालयलाई फिर्ता गर्नुपर्छ । कति उठाएको हो त्यसको छानबिन गर्न माग गरेका छौँ,’ उनले भने, ‘स्ववियुको गरिमामा आँच पुगेको छ। स्ववियुले आधिकारिक निर्णय नगरी शुल्क उठाएको हो,’ ऐरले भने।
स्ववियु सचिव सिद्धान्त भट्टसहित १३ सदस्यले विज्ञप्ति नै निकालेर स्ववियुमा आधिकारिक निर्णय नभएको बताएका छन् । ‘पार्किङ शुल्क उठाउने निर्णय स्ववियुमा भएको छैन,’ सचिव सिद्धान्त भट्टले भने। शुल्कको विषयमा विरोध भएपछि स्ववियु सभापति श्यामराज ओझले दोस्रो दिनबाट पार्किङ शुल्न नउठाउने भनेर विज्ञप्ति निकाले।
‘विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्ने ‘इन्टर्नसिप कन्सेप्ट’लाई प्रोत्साहन गर्ने मनसायका साथ क्याम्पसमा नियमित अध्ययनरत विद्यार्थीहरुले गरिरहेको सो पार्किङ व्यस्थापनलाई निःशुल्क बनाउन आएको सुझावलाई मनन् गरी स्ववियुका साथीहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले स्वयम्सेवकको भूमिका निर्वाह गर्दै निःशुल्क पार्किङ गरिने कुरा सबैमा सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्ववियु उपसभापति अनोज कार्की पार्किङ शुल्क स्ववियुले नउठाएको दाबी गर्छन् । ‘प्रिन्सिपल कार्यालयसँग मौखिक कुरा गरेर विश्वविद्यालयमै पढ्ने विद्यार्थीले व्यवस्थापन गर्ने भनेर गरेको हो । यसमा स्ववियु संलग्न छैन । केही विद्यार्थीले पहिलो दिन शुल्क उठाएको भन्ने कुरा आएको छ,’ कार्कीले भने । त्रिविका पदाधिकारीले शुल्क नउठाएको उनको जिकिर छ ।
तर पाँच विद्यार्थी संगठनले पहिलो दिन उठाएको शुल्क फिर्ता गर्नुपर्ने माग गरेको छ। ‘पहिलो चरणमा ज्ञापनपत्र बुझाएर तीन दिनको समय दिँदा पनि सम्बोधन भएन । छानबिन समिति बनेको छैन,’ उनले भने।
प्रिन्सिपल राई भने स्ववियुसँग नै छलफल गर्न आन्दोलनरत विद्यार्थीलाई भनिरहेका छन्। ‘समिति बनाउनुको औचित्य छैन। स्ववियुमा सबै संगठनका सदस्य छन् । स्ववियुबाट नै समाधान गर्न भनेका छौँ,’ उनले भने ।
प्रतिक्रिया 4