काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीले स्वास्थ्य मन्त्रालयलाई स्पष्टीकरण पेश गरेका छन् । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै स्वास्थ्य मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनेको थियो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वैद्यखानाको स्थलगत अनुगनपछिको भिडियो प्रकाशित भएपछि केही आफ्ना अनुभवन समेटेर सुझाव दिएको केसीले बताएका छन् । भिडियो सार्वजनिक भएपछि सिंहदबार वैद्यखानाको विगत र वर्तमानका बारेमा सामाजिक सञ्जालमा टीकाटिप्पणी भएका थिए ।
‘वैद्यखानाको उत्पादन कम हुँदै जानुमा नीतिगत समस्या, आन्तरिक समस्या, कर्मचारीको असहयोग, कार्यकारी प्रमुख नियुक्ति र खटनपटनमा देखिएका अस्थिरता विषय सबैलाई जानकारी होस् भन्ने हिसाबले केही सुझाव सामाजिक सञ्जालमा राखेको हुँ,’ डा. केसीले स्पष्टीकरण पत्रमा लेखेका छन्, ‘उक्त विषय मेरो व्यक्तिगत विचार र मत हो । यसले संस्थागत प्रतिनिधित्व गर्दैन ।’
‘आयुर्वेद चिकित्सा जगतको पुरानो धरोहर किन र कसरी धरासायी हुन पुग्यो ? के कस्ता हस्तक्षेपकारी नीति अगाडि बढ्न सके गिरेको साख जोगाउन सकिन्छ भनेर सुझाव लेखेको हुँ । कसैलाई आक्षेप, गालीगलौज, घोचपेच गरेको छैन,’ स्पष्टीकरणमा उनले लेखेका छन् ।
‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल (फेसबुक)मा के कति कारणले लेखिएको हो ? सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्नेगरी आजको मितिले तीन दिनभित्र स्ष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ उनलाई पठाइएको पत्रमा उल्लेख छ ।
गत बुधबार वैद्यखानाको आकस्मिक निरीक्षणमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न निर्देशन दिएका थिए ।
‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’
मन्त्री पौडेलले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई निर्देशन समेत दिएका थिए ।
मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका थिए ।
उनले अहिलेको गठन आदेशले ठिमाहा बीउ रोपेको र त्यसमा धान नफल्ने व्यंग्यात्मक टिप्पणी गरेका थिए । केसीले आफू दुईपटक इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती निर्देशक बनाइएको उल्लेख गरेका छन् । उनले कर्मचारी स्वार्थबेगर काम नगर्ने परिपाटी रहेको औंल्याएका थिए ।
‘अहिलेको व्यवस्थाले यदि कसैलाई फाइदा गर्यो भने त्यो केवल आयुर्वेद समूहका केही नवौं र १० औं तहका कर्मचारीलाई मात्र गर्यो तर संस्था झनै टाट पल्टियो,’ डा. केसीले भनेका छन्, ‘एक जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ । जसमा म पनि इच्छा विपरीत दुई पटक सामेल भइसकेको छु । ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’
प्रतिक्रिया 4