
७ पुस, पोखरा । कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धान सकिएसँगै आइतबार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ ।
कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा रास्वपा सभापति रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि करिब २८ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको छ ।
त्यस्तै, जीबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ ।
अर्का प्रतिवादी छविलाल जोशीमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएका जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले बताइन् ।
त्यस्तै, रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो दाबी गरिएको छ भने लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’ का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् ।
त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।
त्यसरी प्रतिवादी बनाइएकाहरूमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो ।
सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरू हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् ।
प्रतिक्रिया 4