
७ पुस, काठमाडौं । अहिले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र पूर्वअसई रामबहादुर खनाल कुनै समय एउटै कार्यालयमा थिए ।
जोशी एसपी तथा कार्यालय प्रमुख छँदा खनाल त्यतिबेला प्रहरी जवान थिए । त्यतिबेलादेखि भएको उनीहरूको चिनजान सहकारी ठगीसम्म जोडिएको खुलेको छ । २०५४ सालमा प्रहरी जवानमा भर्ना भएका खनाल २०५८ सालमा गण नम्बर १ नक्सालमा कार्यरत थिए । त्यतिबेला उक्त गणको हाकिम थिए तत्कालीन एसपी छविलाल जोशी ।
त्यतिबेलादेखि उनीहरूबीच भएको चिनजान अहिले सहकारी ठगीसम्म आएको छ । त्यसबेलादेखि जोशी कार्यालय प्रमुख भएर कतै जाँदा खनाललाई पनि सँगै लाने गरेका थिए । उक्त कुरा खनालले बयानमा समेत खुलाएका छन् । यतिमात्रै होइन प्रहरी सेवामै रहँदा जोशीले खनाललाई आफ्नो घरको काममा समेत लगाउने गरेका थिए ।
३० वर्षे प्रहरी सेवा पूरा हुन लागेका बेला उनै जोशीले खनाललाई जागिर छाड्न समेत लगाएका थिए । ‘आखिर तिम्रो पेन्सन आइहाल्छ । तिम्रो छोरा र बुबा पनि बिरामी हुनुहन्छ । संगठनमा राम्रो कमाई पनि छैन । अब अन्य काम गर्दा राम्रो हुन्छ । मेरो साथीको क्यासिनो छ, म भन्दिउँला’ भनेर जोशीले भनेपछि जागिर समेत छाडेको भन्दै खनालले बयान दिएका छन् ।
त्यतिबेला असईमा कार्यरत रहेका खनालले २८ असार २०७५ मा राजीनामा दिएका थिए । त्यसपछि उनी जोशीमार्फत नै बारामा रहेको होटल इच्छामा रहेको स्माइल कलेक्सन प्रालि नामको क्यासिनोमा सेक्युरिटी गार्डको काम गरेका थिए । त्यतिबेला मासिक ४० हजार तलब हुने गरेको उनले बताएका छन् ।
मार्केटिङको काम समेत थपिएपछि उनले मासिक ६० हजार तलब पाउने गरेका थिए । तर एक दिन जब पूर्वडीआईजी जोशीले सेयर दिने भन्दै उनलाई हस्ताक्षर गराए त्यसपछि उनी सहकारी ठगीमा जोडिएको खुलेको छ । नागरिकता र चेकबुल लिएर आउनु भनेकाले आफू जोशीलाई भेट्न गएको र नेपाली कागजमा लेखिएको ३/४ पन्नामा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।
केही दिनपछि नेचर हर्ब्सको सेयरमा छवि जोशीका साथै कुमार रम्तेल, गितेन्द्रबाबु र म रहेको भन्ने समाचार सार्वजनिक भएपछि मात्रै थाहा पाएको उनले बताएका छन् । पछि आफ्नो नामको उक्त सेयर जीबीले १० लाखमा खरिद गर्ने गरी सम्पूर्ण कागजात जोशीले तयार पारेर हस्ताक्षर गर्न लगाएको खनालको भनाइ छ ।
सूर्यदर्शन सहकारीका कर्मचारी सन्तोष रोकाले मेरो बैंकको खातामा १० लाख जम्मा गरिदिएकोमा आफूले जोशीलाई पहिला नै दस्तखत गरेर चेक दिएकामा उनले निकालेर आफ्नो खातामा उक्त रकम जम्मा गरेको खनालको बयान छ । यही १० लाख कारोबारलाई आधार बनाएर अहिले आफूलाई प्रतिवादी बनाउन नमिल्ने दाबी उनको छ ।
प्रतिक्रिया 4