+
+

राजीनामा माग्नेलाई ऋषिकेशको जवाफ- दलीय व्यवस्थामा दलकै निर्णय मान्छु

‘…सबै परीक्षामा सामेल हुन तयार छु । नेपालको संविधान, कानुनमा विश्वास राख्न चाहन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते २०:०४

८ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू राजनीतिक दलहरूको सहमतिका आधारमा जिम्मेवारीमा बसेको बताएका छन् ।

सोमबार समितिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लेखा समितिको सभापति प्रतिपक्षी दलको हुनुपर्ने बताएका थिए । जवाफमा सभापति पोखरेलले आफू दलीय सहमतिबाट नेतृत्वमा रहेकाले दलीय सहमति बिना जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका हुन् ।

माओवादी सांसद मोदीले जो सरकारकै नेतृत्वमा रहेको दलबाट लेखा समितिको नेतृत्व हुन नहुने बताएका थिए ।

सांसद मोदीले भनेका थिए, ‘प्रश्न उठिरहेको छ– सरकारको छायामा लेखा समितिमा प¥यो कि भनेर । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ । लेखा समितिको नेतृत्व प्रतिपक्षलाई दिनुपर्ने भएकाले पनि मार्ग प्रशस्त गरेको राम्रो हो ।’

जवाफमा सभापति पोखरेलले आफूहरू दलीय व्यवस्थामा रहेको बताएका हुन् ।

‘हामी सबै दलीय सांसद हौं, निर्दलीय सांसद होइनौं । दलका सांसद भइसकेपछि दलको निर्णय, दलहरूको सहमतिलाई मान्ने हो,’ सभापति पोखरेलले भने । फेरि पनि दलहरूको निर्णय भए त्यसअनुसार अगाडि बढ्न आफू तयार रहेको सभापति पोखरेलले बताए ।

‘तपाईं हामी सबै दलका प्रतिनिधि हौं । दलहरूले जे निर्णय गर्छन, जे सहमति बनाउँछन् हामी त्यसैभित्र बाँधिएका हुन्छौं । म पनि त्यसैभित्र पर्छु । म यही आग्रह गर्न चाहन्छु,’ सभापति पोखरेलले भने ।

सभापति अगाडि बोलेका नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि सभापति पोखरेलको बचाउ गरेका थिए । उनले दुई वर्षको अवधिमा दलहरूको पोजिशन अदलबदल भइराखेको उल्लेख गर्दै उनले ६/६ महिनामा सभापति फेरिने अवस्था आउन दिन नहुने बताए ।

‘कहिले को सत्तापक्षमा छ, कहिले को प्रतिपक्षमा । ६/६ महिनामा सभापति बदल्दै हिंड्ने कुरा पनि भएन,’ उनले भने ।

लेखा समितिको सभापति बदल्ने भए संसदका पदाधिकारीहरू सभामुखदेखि राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, समितिका सभापतिसम्म बदल्ने अवस्थाको कल्पना गर्नुपर्ने उनको आग्रह थियो । यसका लागि प्रतिपक्षी दलहरू तयार भए आफूहरु पनि तयार हुने उनको जवाफ छ ।

यो विषयमा एमाले सचिव भट्टराई र माओवादी सांसद मोदीबीच सवालजवाफ नै भएको थियो ।

‘सबै परीक्षामा सामेल हुन तयार छु’

लेखा समितिका सभापति पोखरेललाई उनकी श्रीमती सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेको विषयमा समेत सांसदहरूले प्रश्न गरे ।

प्रश्न उठिसकेपछि सभापतिले प्रष्ट पार्न सक्ने आग्रह एमालेका सचिव भट्टराई र माओवादी केन्द्रका सांसद मोदीले गरेका थिए । जवाफमा सभापति पोखरेलले विषय कानुनी प्रक्रियामा रहेको र आफू सबै परीक्षामा सामेल हुन तयार रहेको बताए ।

‘मैले बुझेअनुसार सभापतिको श्रीमती विराटनगरको जिल्ला अदालतमा यस सम्बन्धी मुद्दा दायर भएको छ । पक्कै पनि सभापतिज्यू जस्तो एउटा प्रतिष्ठित व्यक्तिले आफ्नो परिवारलाई लुकाएर, छिपाएर राख्ने कुरा भएन । सम्भव पनि छैन र गर्न पनि गरिँदैन,’ भट्टराईले भनेका थिए ।

उनले सभापतिको श्रीमती अदालतमा हाजिर हुन जाने विश्वास पनि व्यक्त गरेका थिए ।

‘पक्कै पनि सभापतिज्यूको श्रीमती जो केशमा नाम जोडिएको छ उहाँ अदालतमा हाजिर हुन जानुहुन्छ । जानु पनि पर्छ । अदालतमा उहाँले आफ्नो सफाइ दिने हो । न्यायिक निरुपणमा आफ्नो सफाइ दिने हो । बाहिर चिच्याउँदै, कराउँदै हिंड्ने पनि होइन,’ भट्टराईले भनेका थिए, ‘उहाँ न्यायिक निरुपण गर्ने निकायमा जानुपर्छ, जानुहुन्छ भन्ने मलाई विश्वास छ ।’

यो विषयमा कतिपयले सभापतिमाथिसमेत प्रश्न उठाएको भनेर उनले जवाफ मागेका थिए ।

‘माननीय सभापतिज्यूकै बारेमा पनि कुरा उठेको छ । हामी सुशासनको प्रत्याभुति गर्ने र देशको चेक एण्ड ब्यालेन्स गर्ने समितिमा बसिरहेको हामी प्रत्येक आर्थिक लेनदेनको हिसाबले ठीक ठाउँमा उभिनुपर्छ । हामी ठीक ठाउँमा उभिएनौं भने अरु कसैमाथि डण्डा चलाउन सकिँदैन्,’ भट्टराईले भनेका थिए ।

सभापतिले लेखा समिति नै प्रष्टीकरण दिने ठाउँ नभएता पनि त्यो अवसर लिन सक्ने उनको आग्रह थियो ।

‘सभापतिज्यूले आफ्नो स्पष्टीकरण दिनुपर्ने यो फोरम होइन । तर पनि कुरा उठेको छ भने सभापतिको आफ्नो केही कुरा छ भने भन्न सक्नुहुन्छ । म अनुरोध गर्दछु– भन्नुहोस् प्रष्ट बनाइदिनुहोस्,’ भट्टराईले भनेका थए ।

‘परिवार विभिन्न ठाउँमा जोडिएका हुन्छन् । श्रीमती जोडिए, छोराछोरी जोडिए भन्दैमा अर्कोलाई तान्न मिल्दैन । म जोडिएको छु भनेर श्रीमतीलाई अनावश्यक कि तान्ने ? यसकारणले यो अलिकित सभापतिले बोलिदिनु भएपनि केही फरक पर्दैन,’ एमाले सचिव भट्टराईको आग्रह थियो ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पनि जवाफ मागेका थिए ।

‘सहकारीको विषय कहीँ न कहीँ तपाईंको परिवारसँग पनि जोडिएको छ । कहीँ न कहीँ तपाईंसँग पनि जोडिन्छ । यो देशमा सुशासन गर्नुपर्ने वा सरकारलाई चेक एण्ड ब्यालेन्स गर्नुपर्ने यो समितिकै सभापतिमाथि प्रश्न उठेपछि यसको बारेमा तपाईंले केही न केही बोल्नुपर्ने हुन्छ । जवाफ दिनुपर्ने हुन्छ,’ माओवादी सांसद मोदीले भनेका थिए ।

जवाफमा सभापति पोखरेलले आफू नेपालको संविधान, कानुनमा विश्वास राख्ने व्यक्ति भएको बताए ।

‘विषय कानुनी प्रक्रियामा छ, सबै परीक्षामा सामेल हुन तयार छु । नेपालको संविधान, कानुनमा विश्वास राख्न चाहन्छु,’ सभापति पोखरेलले छोटो जवाफ दिए । यो विषयमा सभापति पोखरेलले थप व्याख्या गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?