हवाईजहाजको यात्रा तुलनात्मक रुपमा सुरक्षित र छिटो हुने भएकाले यातायातका लागि धेरैको रोजाइमा पर्ने गरेको छ । तर हवाई यात्रा गर्दा केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । विशेषगरी ती व्यक्ति जसलाई कुनै स्वास्थ्य समस्या छ भने उनीहरू सचेत हुनुपर्छ ।
केही विशेष चिकित्सा अवस्था भएका व्यक्तिले हवाई यात्रा गर्नुअघि चिकित्सकको अनुमति लिनुपर्ने हुन्छ । यस्तोमा के कस्तो अवस्थामा हवाई यात्रा गर्नु हुँदैन भन्ने कुराको जानकारी हुनुपर्छ ।
कस्ता व्यक्तिले हवाई यात्रा नगर्ने ?
हालसालै कोरोनरी बाइपास ग्राफ्ट-एन्जियोप्लास्टी शल्यक्रिया गरेका जोकोहीले पनि चिकित्सकको सल्लाह विना हवाई यात्रा गर्नु हुँदैन । यदि कसैलाई भर्खरै हृदयघात वा स्ट्रोक भएको छ, छाती दुखाइबाट पीडित छ भने उनीहरूले पनि चिकित्सकको अनुमति लिएर मात्र हवाई यात्रा गर्ने निर्णय लिनुपर्छ ।
गर्भवती महिलालाई गर्भावस्थाको प्रारम्भिक र अन्तिम त्रैमासिकमा हवाई यात्रा नगर्न सल्लाह दिइन्छ । बच्चा जन्मेपछि तुरुन्तै हवाई यात्रा गर्नु हुँदैन । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, उनीहरूलाई हवाई यात्रामा संक्रमण र अन्य धेरै रोग लाग्न सक्छ ।
यदि कसैलाई कान र नाकको साइनस संक्रमण छ भने उसले हवाई यात्रा नगर्नु नै उपयुक्त हुन्छ । गर्नैपर्ने अवस्था छ भने पनि चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ । यदि कसैलाई गम्भीर दीर्घकालीन श्वासप्रश्वास रोग छ, कुनै सक्रिय संक्रामक रोग छ वा अनियन्त्रित दमको आक्रमण छ भने उनीहरूले पनि चिकित्सकको सल्लाह विना हवाई यात्रा नगर्नु राम्रो हुन्छ ।
गम्भीर मानसिक रोगबाट पीडित वा मिर्गीको समस्या भएको व्यक्तिले पनि हवाई यात्रा नगर्नु उचित हुन्छ । किनकि यस्तो समस्या भएको व्यक्तिले हवाई यात्रा गर्दा सहयात्रुहरूलाई जोखिम हुनसक्छ ।
इमर्जेन्सी अवस्थामा यी कुरामा ध्यान दिनुपर्छ
यदि भर्खरै हृदयघात भएको छ भने दुई हप्ता र यदि एन्जियोप्लास्टी गरिएको छ भने एक हप्तापछि मात्र हवाई यात्रा गर्नुपर्छ । यात्रा गर्नुभन्दा अघि अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
गर्भवती महिलाले यो अवधिमा हवाई यात्रा नगर्नु नै उपयुक्त हुन्छ । तैपनि केही इमर्जेन्सी छ भने पेटको तल पेटी बाँध्नुपर्छ ताकि झट्काले पेटमा प्रत्यक्ष असर नपरोस् । टाइट लुगा लगाउ भन्दा हलुका र खुकुलो लुगा लगाएर यात्रा गर्नु उपयुक्त हुन्छ ।
श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिले हवाई यात्रा गर्दा सास फेर्न गाह्रो भयो भने तुरुन्तै चालक दलको सदस्यलाई सम्पर्क गर्नुपर्छ । बिरामीले आफूसँग इनहेलर राख्नुपर्छ । भर्खरै दमको अट्याक भएकाले आवश्यक औषधिहरू साथमा राख्नुपर्छ ।
विमानमा वृद्धवृद्धा र बिरामीका लागि व्हिल चियरको व्यवस्था गरिएको हुन्छ भने उनीलाई लैजान मद्दत पनि गरिन्छ । बिरामीले औषधि लैजान पाउँछन्, तर त्यसका लागि चिकित्सकको प्रेसक्रिप्सन भने हुनुपर्छ ।
प्रतिक्रिया 4