+
+

सहकारी बचतकर्ताको बिचल्ली, आरोपीको विदेशमा मस्ती

सहकारी ठगीका आरोपीहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढे पनि पीडितहरूको बचत फिर्ता गर्न सरकारले उल्लेख्य काम गर्न सकिरहेको छैन । बचतकर्ताको बिचल्ली भइरहँदा सहकारी ठगी गरेर विदेश फरार भएकाहरूलाई सरकारले पक्राउ गरेर स्वदेश ल्याउन सकिरहेको छैन । 

नारायण अधिकारी नारायण अधिकारी
२०८१ पुष ९ गते २१:२५
माथिबाट बायाँ क्रमशः जीबी, भरत, भुपेन्द्रबाबु, ज्योति, ज्योति भण्डारी र कृष्णगोपाल ।

९ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तेस्रो पटक पूरक मुद्दा दर्ता भयो । प्रहरीले कम्पनी र व्यक्ति गरेर ४४ जनालाई प्रतिवादी बनायो, आरोपितहरूमाथि एक अर्ब ५१ करोड रूपैयाँ बिगो मागदाबी छ ।

अघिल्लो शुक्रबार मात्रै थप अभियोगको कसुरमा १९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । सूर्यदर्शन सहकारी ठगीमै पहिलो पटक १८ असोजमा २०८० मा एक हजार बचतकर्ताको एक अर्ब ११ करोड हिनामिना गरेको निष्कर्ष सहित मुद्दा दायर भएको थियो ।

एउटै सहकारी ठगीको घटनामा तीन पटकसम्म मुद्दा दर्ता गर्दा मुख्य योजनाकार भनिएका जीबी राई भने फरार छन् । तेस्रो पटकसम्म मुद्दा दर्ता गर्दा जीबीको नाम प्रतिवादीको सूचीमा छुटेको छैन ।

पोखराको सूर्यदर्शनका साथै बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानोपाइला र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपित पनि जीबी राई नै हुन् । शृङखलाबद्ध रूपमा भएको ठगी प्रकरणमा मुख्य योजनाकार भनिएका उनै जीबी अहिलेसम्म नियन्त्रणमा आउन सकेका छैनन् ।

उनी बसेको ठाउँ पहिचान हुँदा पनि राज्य संयन्त्रले अहिलेसम्म उनलाई नेपालमा ल्याउन सकेको छैन । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जीबीलाई ल्याउन प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोल मार्फत १३ माघमा डिफ्युजन नोटिस जारी भएको थियो ।

डिफ्युजन नोटिस मात्रै जारी हुँदा नेपाल ल्याउने लामो प्रक्रिया पार गर्नुपर्ने भन्दै प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेको थियो । २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी भएको थियो ।

रेड नोटिस जारी भएको एक वर्ष पुग्न लाग्दा समेत जीबी पक्राउ पर्न सकेका छैनन् । प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारी भने जीबीलाई ल्याउनेबारे सकारात्मक पहल भइरहेको बताउँछन् ।

इन्टरपोलमार्फत रेड नोटिस जारी भएपछि १९६ देशको खोजी सूचीमा उनी हुन्छन् । कूटनीतिक विश्वास जित्न नसक्दा जीबी बसेको ठाउँ पहिचान हुँदा पनि सरकार निरीह बन्नुपरेको छ ।

सहकारीका हजारौं बचतकर्ता सडक आन्दोलनमा छन् । तर फरार भएका जीबी सहकारी अपचलनको रकमले अपार्टमेन्ट र मार्ट खरिद गरेर विदेशमा व्यापारिक सञ्जाल फैलाइरहेको प्रहरीकै अधिकारीहरू स्वीकार्छन ।

संसदीय विशेष छानबिन समितिले नामै किटान गरेर विदेशबाट फिर्ता ल्याउनुपर्ने सहकारी ठगहरूको सूची दिए पनि अहिलेसम्म राज्य चुकेको छ । यसले सरकारको कुटनीतिक असफलता पुष्टि हुने विज्ञहरू बताउँछन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संसद्को राज्य व्यवस्था समितिमा बोल्दै जीबी मलेसियामा रहेको बताएका थिए । त्यसपछि गत भदौको पहिलो साता एसपी नरहरि रेग्मीसहित २ जनाको टोली मलेसिया पठाएर नेपाल ल्याउन पहल भएको थियो । तर, त्यहाँ पुगेको नेपाली टोली रित्तो हात फर्किएको थियो ।

९ जना अझै फरार

प्रहरी प्रवक्ता एसएसपी अधिकारीका अनुसार रेड नोटिस जारी भएका ९ जना सहकारी ठगीका आरोपितहरू अझै पक्राउ पर्न सकेका छैनन् । विभिन्न कसुरमा ७४ जनाविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भएकोमा ९ जना सहकारी ठगीका आरोपितहरू हुन् ।

जीबीसँगै रेड नोटिस जारी भएकाहरूमा ठुलोबुवाका छोरा भुपेन्द्रबाबु राई र थानबहादुर बुढा छन् । उनीहरू पनि मेलेसियामै रहेको आशंका गरिए पनि प्रहरीले यकिन गर्न सकेको छैन ।

त्यसैगरी ललितपुरको मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारी विरुद्ध पनि रेड नोटिस जारी भएको छ । गुरुङ कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । उनीहरूबीच कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले मितेरी सहकारीबारे अनुसन्धान गरिररहेको छ । अहिले पनि अनुसन्धान जारी रहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटी बताउँछन् ।

इन्टरपोलमार्फत उनीहरूको खोजी भइरहेको बताइए पनि अहिलेसम्म उनीहरू बसेको ठाँउ यकिन गरेर नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

गत कात्तिकमै पर्वतको कुश्मास्थित तपाई हाम्रो सहकारी संस्थामा भएको २९ करोड ठगीको घटनामा अध्यक्ष बालगोपाल श्रेष्ठविरुद्ध पनि रेड नोटिस जारी भएको छ ।

श्रेष्ठले तीन वर्षमा आफन्त पर्ने १३ जनालाई २ करोड १० लाख ऋण दिएका थिए ।

सफ्टवेयर डेभलपरसँग मिलेमतो गरेर नक्कली ऋणी खडा गरी सहकारीको सबै रकम हिनामिना गरेर श्रेष्ठ फरार भएको प्रहरीको आरोप छ ।

त्यसैगरी बचतकर्ताको रकम ट्रान्सफर गरेर बेलायतमा बसिरहेका अर्का आरोपित हुन्, भरत महर्जन । ललितपुरको सुमेरु सहकारी ठगीमा संलग्न उनीविरुद्ध सीआईबीले अनुसन्धान गरेको थियो ।

महर्जनले ८ निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर झण्डै चार अर्ब अपचलन गरेको निष्कर्ष सहित जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।

सहकारी संकटमा परेपछि बेलायत पुगेका महर्जनलाई फिर्ता ल्याउन भन्दै प्रहरीले १९ माघ २०८० मा रेड नोटिस जारी गरेको थियो । तर अहिलेसम्म उनलाई प्रहरीले नेपाल फिर्ता ल्याउन सकेको छैन ।

सहकारी ठगीका आरोपीहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढे पनि पीडितहरूको बचत फिर्ता गर्न सरकारले उल्लेख्य काम गर्न सकिरहेको छैन । बचतकर्ताको बिचल्ली भइरहँदा सहकारी ठगी गरेर विदेश फरार भएकाहरूलाई सरकारले पक्राउ गरेर स्वदेश ल्याउन सकिरहेको छैन ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?