+
+

कतारले भन्यो : सिरियामाथिको प्रतिबन्ध तत्काल हटाऊ

‘हामी सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रक्रिया तीव्र पार्न गहन प्रयास गर्न आह्वान गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले नियमित प्रेस ब्रिफिङमा भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १८:४६

९ पुस, दोहा । इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि कतारले मङ्गलबार सिरियामाथिका प्रतिबन्धहरू तत्काल हटाउन आह्वान गरेको छ ।

‘हामी सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रक्रिया तीव्र पार्न गहन प्रयास गर्न आह्वान गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले नियमित प्रेस ब्रिफिङमा भने ।

एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दमास्कसको भ्रमण गरेको एक दिनपछि कतारको यो आह्वान आएको हो । दुई देशबीच १३ वर्षदेखिको विवाद अन्त्य गर्दै कतारी दूतावास आइतबार पुनः खोलिएको छ ।

‘कतारको पोजिसन स्पष्ट छ’, अन्सारीले भने, ‘पूर्व शासकहरूको अपराध नै प्रतिबन्धको कारण थियो र अब त्यहाँ प्रतिबन्ध गरिरहनुपर्ने कारण छैन, त्यसैले प्रतिबन्ध छिट्टै हटाउन आवश्यक छ ।’

सन् २०११ मा असदको सरकारले शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि भड्किएको सशस्त्र विद्रोहको मुख्य समर्थकमध्ये दोहा एक थियो ।

आफ्ना धेरै छिमेकीहरूको विपरीत कतार असदको कडा आलोचक बनेको थियो र गत वर्ष अरब कूटनीतिक गुटमा फर्किए पनि कतारले सिरियासँग सम्बन्ध नवीकरण गरेको थिएन ।

अन्तर्राष्ट्रिय समुदायले सिरियामाथिका प्रतिबन्धहरू हटाउन हतार गरेको छैन । अन्तर्राष्ट्रिय समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?