+

नाकको एलर्जी किन हुन्छ, के छ उपचार ?

२०८१ पुष  १० गते १६:४५ २०८१ पुष १० गते १६:४५
नाकको एलर्जी किन हुन्छ, के छ उपचार ?

नाक बन्द हुनु, हाच्छ्युँ आउनु र लगातार चिसो हुनु सामान्य रुघाखोकीको लक्षण हुनसक्छ । तर कहिलेकाहीं यस्तो समस्या नाकको एलर्जीले पनि हुनसक्छ । धुवाँधुलोका कारण धेरैलाई नाकको एलर्जी हुन्छ । मेडिकल भाषामा यसलाई ‘एलर्जीक राइनाइटिस’ भनिन्छ । यो समस्या कसैलाई लामो समयसम्म देखा पर्छ भने कसैलाई सिजनल हुन्छ ।

पालुवा पलाउने समयमा यो समस्या बढी देखिने गर्छ । नाकको एलर्जी कडा समस्या नभए पनि यसले पछि गएर अन्य समस्या निम्त्याउन सक्छ । एलर्जी गराउने वस्तु एलर्जेनको संसर्गपछि प्रतीकारात्मक कणको माध्यमबाट नाकको भित्री भागमा पुगेपछि नाकको एलर्जी हुन्छ ।

सबैको शरीरमा प्रतिरक्षा प्रणाली हुन्छ, जसले शरीरलाई धेरै हानिकारक रोगबाट बचाउँछ । शरीरमा कुनै पनि ब्याक्टेरियाले आक्रमण गर्दा प्रतिरक्षा प्रणाली बढी सक्रिय हुन्छ । तर कहिलेकाहीं हाम्रो शरीरभित्रको प्रतिरक्षा प्रणाली शरीरलाई धेरै हानि नगर्ने चीजबाट पनि प्रभावित हुन्छ । उदाहरणका लागि, कहिलेकाहीं हाम्रो शरीर धुलो, माटो, परागकण आदिको सम्पर्कमा आउँदा प्रतिरक्षा प्रणालीले आफ्नो प्रतिक्रिया व्यक्त गर्छ र यसैलाई एलर्जी भएको मानिन्छ ।

एलर्जी हुँदा देखापर्ने लक्षण

एलर्जी हुँदा धेरै हाच्छ्युँ आउने, पातलो सिंगान बग्ने, नाक बन्द हुने, टाउको दुख्ने र नाक चिलाउने आदि लक्षण देखा पर्छ । तर सबैलाई एकैनासको लक्षण नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैंका लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिन्छ ।

एलर्जी गराउने तत्त्व

एलर्जी गराउने धेरै तत्त्व हुन्छन् । जसमा घरमा गलैंचाबाट निस्कने धुलोका कणहरू, चुरोटको धुलो, ढुसी, जनावरको रौं, साङ्ला तथा अरू कीराहरू र बिरुवाबाट निस्कने एलर्जेन पर्छन् । घरबाहिर पाइने एलर्जेनहरुमा धुलो, फूलका पराग आदि पर्छन् ।

वायु प्रदूषण, सवारी साधनको धुवाँ र धुलो पनि एलर्जी गराउने तत्त्वमा पर्छ । कसैलाई चिसोको कारण एलर्जी हुन्छ भने कसैलाई वायु प्रदूषणको कारणले पनि हुन्छ ।

एलर्जीबाट बच्ने उपाय र उपचार

धुवाँ निस्किने सामग्री दाउरा, पात, गुइँठा, कोइला आदि बाल्नुहुँदैन । घरभित्र हुने धुवाँ-धुलो नाकको एलर्जी हुने एक प्रमुख कारक भएकाले सोको प्रभाव कम गर्न सुत्ने डसना, तकिया आदिमा प्लास्टिक वा विशेष एलर्जी प्रुफ फ्याब्रिकको खोल लगाउने । दराजमा राखेको कपडालाई समय-समयमा घाममा सुकाउने गर्नुपर्छ । एलर्जी हुने व्यक्तिले घरपालुवा जनावर पाल्नुपर्छ । नाकको एलर्जी एक वंशाणुगत समस्या पनि भएकाले यसलाई औषधि उपचार, खानपान, रहनसहन, नियमित व्यायाम आदिले नियन्त्रणमा राख्न सकिन्छ तर पूरै निको पार्न भने गाह्रो हुन्छ ।

के कुराले एलर्जी भएको हो भनेर जाँच गर्न मिल्छ । जाँच गरेर एलर्जीको कारण पत्ता लगाइयो भने एलर्जी गर्ने कुराबाट बच्न सकिन्छ । कसैलाई लगातार एलर्जी भइरहेको छ भने लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन । लक्षणलाई बेवास्ता गरिरहँदा पछि गएर नाकमा मासु पलाउने सम्भावना हुन्छ । त्यसैले लगातार एलर्जीको लक्षण देखिएको छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

कसैलाई एलर्जी हुनुमा वंशाणुगत कारण पनि हुन्छ । साथै कुनै कुनै ऋतुमा नाकको एलर्जी हुने व्यक्तिमा दम हुने सम्भावना हुन्छ । त्यसैले एलर्जीलाई बेवास्ता गर्नु हुँदैन, अस्पताल गएर एलर्जी जाँच गर्नुपर्छ र समयमै उपचार गर्नुपर्छ ।

एलर्जी डा. अरुण अधिकारी नाक स्वास्थ्य
डा. अरुण अधिकारी
लेखक
डा. अरुण अधिकारी
नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक

डा. अधिकारी नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक हुन् । उनी हाल हस्पिटल फर चिल्ड्रेन आई ईएनटी एण्ड रिह्याबलिएसन सर्भिस (चियर्स)मा कार्यरत छन् । उनले एमबीबीएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर १३१७० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय