
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न कार्यक्रमको आयोजना गरी १६औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा एनसीएचएलले १२ विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मान गरेको छ ।
कम्पनीका अनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एसिया बैंक, गरिमा विकास बैंक र आईसीएफसी फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्सन’ अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ तथा ‘एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल’ अवार्डबाट सम्मानित गरिएको छ ।
नबिल बैंकलाई ‘एक्सिलेन्स इन डिजिटाइजिङ बिज्नेसेस् विथ कर्पोरेटपे’ अवार्डबाट सम्मान गरेको छ ।
नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी गत आर्थिक वर्षमा एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको भूमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको जनाइएको छ ।
सरकारी कारोबार बाहेक सबैभन्दा बढी कारोबार गरी सम्मानित हुनेमा वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक/भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेको कम्पनीको भनाइ छ ।
एनसीएचएलले कम्पनीमा १० वर्ष काम गरेका तीन जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । सम्मानित हुनेमा प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, प्रोडक्ट लिड विष्णुप्रसाद धिताल र इनचार्ज कार्ड अपरेसन्स बन्दना लुइँटेल रहेका छन् ।
कार्यक्रममा एनसीएचएलका पूर्वअध्यक्ष सुमन जोशीलाई समेत सम्मान गरिएको छ । जोशीलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मान गरेका थिए । जोशी १० माघ २०६६ देखि ८ मंसिर २०६८ सम्म एनसीएचएल सञ्चालक समिति अध्यक्षको भूमिकामा थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष लगायत सहभागी थिए ।
प्रतिक्रिया 4