
१२ पुस, रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेस र एमालेकै नेताहरू वाक्क हुन थालेको बताएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।
‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अब कम्युनिष्टहरू मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ,’ पुनले भने, ‘उहाँहरू विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौं । तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं ।’
पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पनि दाबी गरे । ‘हामी अब सरकारमा जाने होइन । ०८४ सम्म जादैनौं भनेका छौं । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं,’ पुनले भने ।
श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4