
१५ पुस, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा भएको गोली आक्रमणमा प्रयोग भएको पेस्ताल भारतबाट खरिद गरेर ल्याएको अभियुक्तले बयान दिएका छन् ।
गोली प्रहारलगत्तै प्रहरी नियन्त्रणमा आएका अभियुक्त शाहिर शंकरले उक्त पेस्ताल भारतबाट आफूले खरिद गरेर ल्याएको बताएका छन् । एक अनुसन्धान अधिकृतका अनुसार शंकरले उक्त पेस्तोल आफूले ६० हजार नेपाली रुपैयाँमा खरिद गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनले भूतपूर्व सैनिक दम्पतीको हत्या योजनाअनुसार नै भारतको बिहारबाट पेस्तोल खरिद गरेको बताएका छन् । प्रहरीले उनको साथबाट म्यागजिन सहितको अटोमेटिक पेस्तोल एक थान सहित म्यागजिनमा लोड भएको चार राउण्ड गोली, पड्केको अवस्थामा एक राउण्ड गोली र शंकरको ज्याकेटबाट थप पाँच राउण्ड गोली बरामद गरेको थियो ।
गोली आक्रमणपछि प्रतिकार गर्ने क्रममा उनी समेत घाइते भएका थिए । उनको टाउकामा चोट लागेको छ भने हात समेत भाँचिएको छ । आक्रमणको प्रतिकार गर्दा उनी समेत गम्भीर घाइते भएका थिए । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
शंकरले शनिबार राति साढे १० बजेतिर अर्जुन श्रेष्ठको घरभित्र पसेर अर्जुन र उनकी श्रीमती शान्तिदेवीमाथि गोली प्रहार गरेका थिए । उनीहरूको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
गोली आक्रमणबाट घाइते भएका अर्जुन भुतपूर्व सैनिक हुन् । शंकरले शान्तिदेवीमाथि गोली प्रहार गरेका थिए । उनको घाँटीको छेउबाट गोलीले छेड्दै अर्जुनको पेटमा गोली लागेको थियो । गोली अर्जुनकै पेटमा अड्किएको मेडिकल जाँचबाट पुष्टि भएको थियो । आक्रमण गर्ने शंकर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का बासिन्दा हुन् ।
अहिले तीनै जना उपचारकै क्रममा रहेकाले घटनाको यकिन विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण आक्रमण भएको बुझिएको छ । तीनै जना उपचारको क्रममा रहेकाले यसको यकिन विवरण खुल्न बाँकी नै छ,’ एसपी अधिकारीले अनलाइनखबरसँग भने ।
शंकरले भने श्रेष्ठ दम्पतीको हत्या गरेर आफूले आत्महत्या गर्ने तयारी गरेको शंकरले बताएको एक अनुसन्धान अधिकृतले बताए । मध्यराति पूर्वसैनिकको घरमा उनी कसरी प्रवेश गरे, किन गोली प्रहार गरेर आत्महत्या गर्नेसम्मको योजनामा पुगे भन्नेबारे अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4