
१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगीतहरू गुणस्तरीय बन्दै गइरहेका बताएका छन् ।
सोमबार सुदूरपश्चिम कलाकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपाली गीतहरू गुणस्तरीय बन्दै गएका कारण विदेशी गीत विस्थापित हुँदै गइरहेको उल्लेख गरे ।
‘कुनैबेला हामीले हिन्दी गीतहरू सुन्नुपथ्र्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरू सुन्न थालेका छन् । त्यसैले गुणस्तरको सबै ठाउँमा महत्त्व छ । यहाँहरूको लगन र मिहेनतले गुणस्तरीय समग्रीहरू प्रस्तुत गर्नुहुने छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिँदै पर्यटनमन्त्री पाण्डेले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताए ।
‘सुदूरपश्चिमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपुर्याएका छौं । यसको अझै विकास गर्नुपर्ने छ । भाषाको विकासमा कलाकार साथीहरूको महत्त्वपूर्ण सहयोग हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4