गर्भबाट बाहिर आएपछि नवजात शिशु पोषणका लागि आमाको दूधमा मात्र निर्भर हुन्छ । शिशु जन्मिनासाथ प्रकृतिमा भएका रोग तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति पनि आमाकै दूधमा हुन्छ । तर कहिलेकाहीं नयाँ आमाहरूको स्तनले पर्याप्त मात्रामा दूध उत्पादन गर्दैन । यस्तो अवस्थामा बच्चाले पोषण पाउँदैन, जसले गर्दा उसको विकासमा बाधा पुग्न सक्छ ।
सुत्केरी अवस्थामा कम दूध उत्पादन नयाँ आमाका लागि ठूलो चुनौती हुनसक्छ । यद्यपि, केही कुरामा ध्यान दिइयो भने दूधको उत्पादन बढाउन सकिन्छ ।
बारम्बार र प्रभावकारी स्तनपान
बारम्बार स्तनपान गराउनुपर्छ । दूध आएन भने स्तनपान गराउन छोड्न हुँदैन । सामान्य रूपमा दैनिक ८–१२ पटक दूध उत्पादनका लागि स्तनपान गराउनु आवश्यक हुन्छ । धेरै अध्ययनले देखाएका छन् कि ‘नर्सिङ फ्रिक्वेन्सी’ बारम्बार स्तनपान र दूध उत्पादनबीचको बलियो सम्बन्ध छ ।
सही तरिका
स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा पनि विशेष ख्याल राख्नुपर्छ । आमाको र बच्चा दुवैको बसाइ शारीरिक रुपमा आरामदायी र सहज हुनुपर्छ । बसाइको स्थिति सहज बनाउनुसँगै शिशुलाई स्तनसम्म सहजरुपमा पुर्याउन सक्ने गरी बस्नुपर्छ ।
स्तनबाट दूध निकाल्ने सही तरिका थाहा हुनु पनि धेरै महत्त्वपूर्ण हुन्छ, जसका लागि स्तनपान विशेषज्ञको सल्लाह लिन सकिन्छ ।
स्तनपान गराउँदा दुवै स्तन प्रयोग गर्ने
प्रत्येक पटक स्तनपान गराउँदा दुवै स्तनको प्रयोग गर्नुपर्छ, यसले दुवैमा दूध उत्पादन गर्न मद्दत गर्छ । प्रत्येक पटक स्तनपान गराउँदा दुवै स्तन प्रयोग भइरहेको छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
पम्पिङ
सिधा दूध खुवाउन सम्भव नभएमा वा दूध उत्पादन कम भएमा स्तन पम्पको सहायताले दूध उत्पादन बढाउन सकिन्छ । यसरी पम्पिङ गर्दा दूध राम्ररी निस्कन्छ र स्तन खाली हुन्छ ।
अध्ययन अनुसार जब स्तन पूर्णरूपमा खाली हुन्छ, दूध उत्पादन १५ देखि ४० प्रतिशतसम्म बढ्न सक्छ । पावर पम्पिङमा १० मिनेट पम्प गर्ने, १० मिनेट आराम गर्ने र एक घण्टाका लागि चक्र दोहोर्याउन सकिन्छ । यो विधि ‘क्लस्टर फिडिङ’ले दूध उत्पादन धेरै हदसम्म बढाउन सकिन्छ ।
सन्तुलित आहार
सन्तुलित आहार दूध उत्पादनका लागि धेरै महत्त्वपूर्ण हुन्छ । स्तनपान गराउने महिलाले दैनिक अतिरिक्त ५०० क्यालोरी र २५ ग्राम प्रोटिन लिनुपर्छ । ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण खानेकुरा जस्तै माछा, नट र बीउले दूध उत्पादन बढाउन मद्दत गर्छ ।
हाइड्रेसन
प्रशस्त मात्रामा पानी पिउनु अति आवश्यक हुन्छ, किनभने शरीरमा पानीको कमीले स्तनमा दूध उत्पादन पनि कम हुन्छ । दैनिक कम्तीमा दुईदेखि तीन लिटर तरल पदार्थ पिउनुपर्छ, जसले दूध उत्पादन बढाउँछ ।
हर्बल पूरक
मेथीको दाना, ज्वानो र कुरिलो जस्ता केही हर्बल पूरकहरूले दूध उत्पादनमा मद्दत गर्न सक्छ, यद्यपि यसका लागि वैज्ञानिक प्रमाण मिश्रित छ । यस्ता खानेकुरा सेवन गर्नुअघि एक पटक चिकित्सकको सल्लाह लिनु उपयोगी हुन्छ ।
तनाव न्यूनीकरण
तनाव र चिन्ताले पनि दूध उत्पादनमा हस्तक्षेप गर्न सक्छ, त्यसैले तनावलाई व्यवस्थापन गर्नुपर्छ । तनाव व्यवस्थापन गर्न गहिरो सास फेर्ने, मनलाई शान्त पार्ने, ध्यान गर्ने, आफूलाई मन पर्ने सङ्गीत सुन्ने गर्न सकिन्छ ।
पर्याप्त आराम
निद्राले पनि दूध उत्पादनलाई असर गर्छ । यदि स्तनपान गराउने महिलाले पर्याप्त आराम गरिनन् भने दूधको उत्पादन कम हुन्छ । विशेषगरी बच्चा सुतिरहेको बेला आमाले पनि आराम गर्ने मौका गुमाउनु हुँदैन ।
छालादेखि छाला सम्पर्क
छालादेखि छालाको सम्पर्क आमा र बच्चा दुवैको लागि लाभदायक हुन्छ । यसले दूध उत्पादनलाई उत्तेजित गर्नुका साथै आमा र बच्चाबीचको विशेष सम्बन्ध पनि सिर्जना गर्छ । स्तनपान गराउँदा बच्चालाई नजिकबाट समात्दा दूध उत्पादनमा मद्दत गर्ने हर्मोन अक्सिटोसिन निस्कन्छ ।
धुम्रपान र रक्सीबाट बच्ने
धुम्रपान र रक्सी दुवै दूध उत्पादन घटाउन जिम्मेवार छन्, जसले स्तनपान गराउने महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्छ । साथै, यसले बच्चालाई पनि हानि पुर्याउँछ ।
कुन बेला चिकित्सकको सल्लाह लिने ?
स्तनपान गराउने महिलामा एकदमै कम दूध आइरहेको छ भने स्तनपान विशेषज्ञको सल्लाह लाभदायक साबित हुनसक्छ । दूध उत्पादन कम भएमा विज्ञले कारण पत्ता लगाएर उपचार गर्न सक्छन् । यसबाट आमा र बच्चा दुवैको स्वास्थ्यको ख्याल गर्न सकिन्छ ।
प्रतिक्रिया 4