१६ पुस, काठमाडौं । थापाथली चेस पार्क क्लबले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ ।
नकआउट समिकरणमा पूर्व विजेता दोलखा चेस होमलाई सहज रुपमा हराएको थापाथली चेस पार्कले फाइनलमा ललितपुर स्पोर्ट्स क्लबमाथि कठिन जित निकाल्दै च्याम्पियन बनेको हो ।
चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्यापिड चरणसम्म धकेल्न सफल भयो ।
क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा टुङ्गिएको थियो । पहिलो बोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी स्पोर्ट्स क्लबका सिएम सजिन महर्जनसँग हार व्यहोरे भने चौथो वोर्डको स्पर्धामा नेशनल वुमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपालीसँग पराजित भइन् ।
टिम गेममा चेस पार्कले २ अंग गुमाउदाको दबाब झेल्दै दोश्रो वोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपानेमाथि जित गर्ता गरि १ अंकको खाता खोले । तेश्रो वोर्डमा आशीष फूँयालले रिसोन थापा विरुद्ध टाइम आउट गराउदै टिमको स्कोर २-२ बनाए ।
लगत्तै प्रतिस्पर्धा र्यापिड चरणका प्रवेश भएको थियो । जहाँ रिजेन्द्र राजभण्डारी पुन: सजिनसँग पराजित भए । चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशीष फुयाल र सिन्दिरा जोशीले आ-आफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउदै उपाधि जित्नमा योगदान पुर्याउन सफल बने।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न सातौं संस्करणको राष्ट्रिय क्लब टिम प्रतियोगिताको विजेता बनेसंगै थापाथली चेसपार्क क्लब तेस्रोपटक च्याम्पियन भएको छ ।
च्याम्पियन चेस पार्कले नगद २ लाख पुरस्कार प्राप्त गर्यो ।उपविजेता आयोजक ललितपुर स्पोर्ट्स क्लबले १ लाख २० हजार नगद पुरस्कार पायो ।
प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहदै नगद ६० हजार प्राप्त गरेका छन् भने चौथो भएको पूर्व च्याम्पियन दोलखा चेस होमले नगद ४० हजार हात पार्हायो ।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले शील्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे । घिसिङले नेपाली खेलकुद नेपाल सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले प्रदान गर्ने कुनै पनि निर्देशन सबैले नि:शर्त पालना गर्नु पर्ने धारणा राखे ।
प्रतिक्रिया 4