+
+

‘सेवाग्राहीले समयमा न्याय पाउने अवस्था हुनुपर्छ’

अदालतमा बर्सेनि बढ्दो मुद्दाहरुको चाप नै अहिलेको सबैभन्दा ठूलो समस्या हो । सेवाग्राहीहरुले ‘मैले समयमा गुणस्तरीय सेवा पाए कि पाइन ?’ भनेर हेरिरहेको हुन्छ । न्याय नमर्ने गरी छिटोछरितो रुपमा मुद्दा फर्स्योट गर्ने उपायबारे हामीले सोच्नुपर्छ ।

महेश थापा, प्रगतिशील समूह महेश थापा, प्रगतिशील समूह
२०८१ पुष १७ गते ११:०२

सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा तपाईंहरुको समूहको उम्मेद्वारी किन र केका लागि हो ?

हाम्रो टिमले अहिले एउटा चुनावी नारा लिएको छ, ‘स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका हाम्रो प्रतिबद्धता : लोकतन्त्र, मानवअधिकार र कानूनी राज्यका लागि पेशागत दक्षता ।’ न्यायपालिकालाई कसरी स्वतन्त्र बनाउन सकिन्छ ? कसरी निष्पक्ष बनाउन सकिन्छ ? कसरी सक्षम बनाउन सकिन्छ ? भन्नेतर्फ नै बारको आगामी नेतृत्व प्रतिवद्ध हुनेछ भन्ने हाम्रो अवधारणा हो ।asdfaf

त्यसका साथै पेशागत रुपमा पनि हामी दक्ष हुनुपर्ने सन्देश दिन खोजेका छौं । न्यायपालिका स्वतन्त्र, निष्पक्ष र निर्भिक हुन सक्यो भने मात्रै न्याय प्रवाह हुन्छ । कसैको दवाव वा प्रभावमा पर्ने स्थिति भयो भने सेवाग्राहीले न्याय पाउने अवस्था हुँदैन ।

सर्वोच्च अदालत बार एसोसिएसनले स्वतन्त्र न्यायपालिका र त्यहाँबाट निष्पक्ष न्याय सम्पादनको विषयमा जहिले पनि खवरदारी गर्नुपर्छ, गरिरहन्छ । आवश्यक परे अझै सशक्त खबरदारी गर्नुपर्ने पनि हुनसक्छ । तर अहिलेको अवस्थामा हामीले खबरदारी धेरै गरिसक्यौं, आवश्यक परेको बेलामा रचनात्मक सहयोग पनि गर्नुपर्छ ।

हामीले बार र बेञ्चलाई एक रथका दुई पाङ्ग्रा भन्ने गर्छौं अथवा एउटा सिक्काका दुईटा पाटा पनि भन्ने गरिन्छ । एउटा पाटोलाई गाली मात्रै गरिरहने काम भयो वा एउटा पाटोको आलोचना मात्रै भयो भने सन्तुलन कायम नरहनसक्छ । त्यो अवस्थामा सिक्का खोटो हुन जान्छ । हामीले बेञ्चलाई रचनात्मक सहयोग गर्नुपर्छ । बरु सहकार्यको शुरुवात हामी नै अफर गर्छौं ।

तपाईंहरुको कामकारवाही न्यायपालिकाको उच्च निकाय सर्वोच्च अदालतमा प्रत्यक्ष सरोकार हुने भएकाले त्यससँग सम्बन्धित मुद्दाहरु केके छन् ?

हामीले मूलभूत रुपमा दुईवटा विषय हेर्नुपर्छ । पहिलो, कानून व्यवसायीहरुको पेशागत संगठन भएकाले पेशागत हकहित सर्वोच्च अदालत बार एसोसिएसनको प्राथमिक एजेण्डामा परिहाल्छ । अरु संघसंगठनको जस्तो कुनै निकाय वा संस्थासँग संघर्ष गरेर लिने, खोज्ने वा कोही विरुद्धको हकहितको कुरा गर्ने होइन कि ‘यो व्यवसायलाई नै कसरी प्रवर्द्धन गर्न सकिन्छ ?’ भनेर सोच्नुपर्छ ।

कानून व्यवसायीहरुलाई अझ कसरी सक्षम बनाउन सकिन्छ भन्नेवारेमा हाम्रो कोसिस रहन्छ । कानुन व्यवसायी सक्षम भएर मात्रै पनि अदालत, अझ भनौं न्यायपालिका सक्षम हुँदैन । बारका साथसाथै बेञ्चलाई पनि न्यायप्रवाहमा सक्षम बनाउन हामीले सहयोग गर्नुपर्छ ।

नेतृत्व र अन्य पदका लागि प्रतिस्पर्धीहरु पनि छन् । तपाईंहरुले आफूलाई के आधारमा अब्बल सावित गर्नुहुन्छ ?

अहिलेसम्मकै नवीनतम रुपमा यी एजेण्डा ल्याएका छौं भनेर म दावी गर्दिनँ । हरेक दुई वर्षमा सर्वोच्च बार एसोसिएसनको नयाँ नेतृत्व चुनिरहेका छौं । वर्षौदेखिको समस्या जहाँको त्यहीँ छ, कतिपय समस्या निराकरण हुन सकेको छैन । हामीले बार एसोसिएसनलाई दलीय प्रभावभन्दा बाहिर राख्नुपर्छ भनिरहेका छौं । त्यही आधारमा हाम्रो प्यानल पनि गठन भएको हो ।

न्यायपालिकामा भ्रष्टाचार छ, विकृतिहरु छन् भनेर हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौं । अदालतले नै गठन गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले अदालतमा विचौलियाहरु छन् भन्ने स्पष्ट भइसकेको छ । त्यसमा हामीले विमती राखिराख्नुपर्ने अवस्था पनि छैन ।

म आफैं पनि सक्रिय रुपमा कानून व्यवसाय गरिरहेको व्यक्ति भएकाले स्वतन्त्र रुपमा कानून व्यवसाय गरिआएका व्यक्तिहरुलाई समेटेर समूह बनेको छ । दलको प्रभावबाट मुक्त हुने स्वतन्त्र खालका व्यक्तिहरुलाई ल्याइयो भने मात्रै सुधारका एजेण्डालाई लागू गर्न सकिन्छ । हिजोकै जस्तो अवस्था भयो भने केही सुधार हुँदैन ।

मेरो प्रतिस्पर्धी बनेर उम्मेद्वार दिनुभएको व्यक्ति मेरो अनन्य मित्र हुनुहुन्छ । हामी सँगै पढेर, हुर्केर आएका हौं र लामो समयदेखि व्यवसायिक सहकार्य पनि छ । उहाँ यसअघि पनि विभिन्न कार्यसमितिमा बसेर आइसक्नुभएको छ ।

मैले हिजो बारलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरेर आएको छु । तर प्रत्यक्षतः कुनै कार्यसमितिमा बसेर काम गरेको छैन । यी एजेण्डा लागू गर्नका लागि म आफै नयाँ परीक्षण हुँ र हामी नवीनतम कुरा गरिरहेका छौं । नयाँ तरिकाले बार बेञ्च हिँड्नुपर्छ र त्यसका लागि नयाँ नेतृत्व चयन हुनुपर्छ । त्यो नै हामी निर्वाचित हुने आधार हो ।

बार–बेञ्च बाहेक न्यायपालिकासँग सरोकारवालाहरुका कयौं सवाल छन् । बेलामा न्याय पाउदैनन्, न्याय महंगो भयो भन्ने गुनासो छ । यी विषय निर्वाचनका एजेण्डा छैनन् ?

हाम्रो न्यायपालिका निष्पक्ष, निर्भिक र स्वतन्त्र छ भनेर मात्रै पुग्दैन । न्यायपालिकाले परिणाम पनि दिन सक्नुपर्छ । समयमा नतिजा दिन नसकेमा परिणाममुखी न्यायपालिकाको कुरा गरेर कुनै अर्थ हुँदैन । परिणाममुखी न्यायपालिका नभए हामीले गरेका सुधारका छलफल भावनात्मक मात्रै हुन जान्छन्, कुनै अर्थ रहँदैन ।

सेवाग्राहीहरुले ‘मैले समयमा गुणस्तरीय सेवा पाएँ कि पाइनँ ?’ भनेर हेरिरहेको हुन्छ । अदालतमा बर्सेनि बढ्दो मुद्दाहरुको चाप नै अहिलेको सबैभन्दा ठूलो समस्या हो । अझै सर्वोच्च अदालतमा यो समस्या बढी छ । बेलैमा सम्बोधन गर्न सकिएन भने दिनप्रतिदिन हामी झनै ढिलो हुँदै जानेछौं ।

मुद्दा दर्ता हुने भन्दा फैसला हुने अनुपात घट्ने हो हामीले थेग्न नसक्ने अवस्था निम्तिन्छ । त्यसका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्ने ठानेको छु । न्याय नमर्ने गरी छिटोछरितो रुपमा मुद्दा फर्स्योट गर्ने उपायबारे हामीले सोच्नुपर्छ । त्यसको अग्रसरता अदालतले नै लिने हो, बारले रचनात्मक सहयोग गर्नेसम्म हो ।

सर्वोच्च अदालत बार र नेपाल बारकै कतिपय एजेण्डा र दृष्टिकोणमा तालमेल देखिँदैन । यस्तो अवस्थामा अरु विषय कसरी सम्बोधन होला ?

नेपाल बार र सर्वोच्च बार एसोसिएसनमा अलिकति भिन्नता छ । सर्वोच्च अदालत बार एसोसिएसन नेपाल बार एसोसिएसनको एउटा इकाइ हो । नेपाल बार एसोसिएसनले नेपालभरका सबै कानून व्यवासयीहरुको प्रतिनिधित्व गर्छ ।

विभिन्न जिल्ला, उच्च अदालतहरु अनि विशेष अदालत बारमा रहेका सबै कानून व्यवसायीहरुको सरोकारलाई नेपाल बार एसोसिएसनले सम्बोधन गर्नुपर्छ । नेपाल बार एसोसिएसन ठूलो आकारको र अलि बहुआयामिक संस्था हो ।

सर्वोच्च बारले सर्वोच्च अदालतमा अभ्यास गरिरहने कानून व्यवसायीहरुको सरोकारलाई ज्यादा हेरेको हुन्छ । भलै कि सर्वोच्च अदालतमा बहस गर्न सर्वोच्च अदालत बारको सदस्यता जरुरी छैन । यसरी हेर्दा सर्वोच्च अदालत बार नेपाल बार एसोसिएसनको छायाँ होइन, छुट्टै इकाइ हो । इकाइ भइकन पनि यसको आफ्नो महत्व छ । सर्वोच्च बारले सर्वोच्च अदालतसँग सिधा व्यवहार गर्छ ।

आफैं स्वतन्त्र रुपमा व्यवहार गर्ने कारणले गर्दा यसको अलि महत्व पनि छ र अरु बारभन्दा अलि पृथक छ । अरु बारभन्दा सर्वोच्च बारमा रहेका सदस्यहरुको व्यक्तित्वको कारणले पनि आफ्नै महत्व छ । अलि अनुभवी र लामो समय काम गरेका कानून व्यवसायीहरु प्रायः सर्वोच्च अदालत बार एसोसिएसनमा आवद्ध छन् । नेपाल बार र सर्वोच्च बारको उद्देश्य र कार्यशैली पनि अलि फरक छ ।

अन्त्यमा, दुवै समूहको नेतृत्वबीच उस्तै पृष्ठभूमि र व्यक्तित्व टकराव रहेछ । हैन ?

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनलाई मतदाताहरुले उत्साहपूर्वक हेरिरहनुभएको छ । उहाँहरुलाई कस्तो व्यक्तित्व आउला भन्ने जिज्ञासा छ । यसपटकको प्रतिस्पर्धा अलि फरक प्रकृतिको पनि छ ।

प्रतिस्पर्धी मेघराज पोखरेल र म सहपाठी पनि हौं । एकै समयमा, एकै किसिमले व्यवसायमा हुर्किदै आएका छौं । यसअघि फरक पृष्ठभूमि र विधाका प्रतिस्पर्धा हुन्थ्यो भने यसपाली हामी दुईको धेरै विधामा समानता देखिन्छ ।

निर्वाचनमा राम्रो टिमलाई चयन गरिदिनुभयो भने कानून व्यवासयीको हकहितमा बोल्ने नेतृत्व चयन हुन्छ । नयाँ दृष्टिकोणबाट एजेण्डा उठाउन सहज हुन्छ । हामीले समयसन्दर्भ अनुसार नौलो परीक्षण गरिरहेका छौं, गर्नुपर्छ । त्यसका लागि हाम्रो टिम सक्षम छ भन्ने मेरो दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?