+
+

क्रुरताको यो हद, सुत्केरी कुकुर र बच्चालाई ढुंगामा पछार्दै नदीमा फाले

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते २१:५९

सामाजिक संजालमा एउटा भिडियो राखिएको छ, जसले तपाईंलाई विचलित बनाउन सक्छ । मान्छेहरु कुन हदसम्म क्रुर एवं निर्दयी हुनसक्छ ? सो भिडियोमा देख्न सकिन्छ ।

नदी किनारमा एउटी सुत्केरी कुकुर देखिन्छ, आफ्ना स-साना बच्चासहितका । दुई केटाले कुकुरको ती बच्चालाई उठाउँछन् र  ढुंगामा बजार्छन् । अनि यसरी नदीमा झटारो हान्छन् मानौं ती कुनै निर्जीव बस्तु हुन् । पाँच वटा बच्चालाई एक एक गर्दै नदीमा झटारो हानेपछि सुत्केरी कुकुरलाई समेत त्यसैगरी मिल्काउँछन् । उनीहरुले यसको भिडियो बनाएका छन् । भिडियो बनाउनेहरुले हाँसीमजाक गर्दै यसो भनेको सुनिन्छ, ‘त्यहाँ पछार्दै फाल्दे ।’

भिडियो हेर्दा तिनीहरुले रमाइलोको लागि यस्तो कृत्य गरेको प्रष्ट हुन्छ । ‘म पनि यमराज बनें’ भन्दै कुकुरको बच्चालाई अत्यान्तै क्रुरतापूर्वक पछार्दै नदीमा फालेका छन् । पीडाले कुकुरको बच्चा चिच्याएको, रोएको सुनिन्छ ।

हेर्नै नसकिने यो कृत्य नवलपरासीस्थित नारायणी नदीको छेउ ठांडीघाटको हो । गत १३ गते साढे चार बजे केही युवा मिलेर सुत्केरी कुकुर र बच्चाहरु नदीमा फालेका रहेछन् ।

सो भिडियो सामाजिक सञ्जालमा देखिएपछि जिल्ला प्रहरी कार्यलय नवलपरासीमा गुनासो पुगेपछि प्रहरीले अपराधीको खोजी गरेको थियो । त्यस क्रममा ३३ बर्षका राजकुमार सारु मगर र २८ बर्षका अमनकुमार चिडी मगर पक्राउ परेका छन् । जिप्रका नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार उनीहरुले अपराध स्वीकार गरेका छन् । ‘धेरैले यस भिडियोबारे गुनासो गरेपछि हामीले अपराधीको खोजी गरी पक्राउ गरेका हौं’ बोहोरा भन्छन्, ‘अब प्रचलित कानुन अनुसार कारवाही अगाडि बढाउनेछौं ।’ ती युवाहरु नवलरासीस्थित सुस्ता गाउँपालिका बेलवानीका हुन् ।

यस घटना मुलुकी अपराध संहिता पशुपन्छी सम्बन्धी कसुरको उल्लंघन देखिएले सो कसुरमा संलग्न व्यक्तिहरुलाई आज आवश्यक कारवाहीको लागि जिल्ला अदालत परासीमा पेश गरिएको प्रहरीको भनाई छ । अदालतबाट सात दिन म्याद थप भई इलाका प्रहरी कार्यलय बेलाटारीबाट थप अनुसन्धान भइरहेको छ ।

के हुन्छ सजाय ?

मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो भनेको छ । यस्तोमा उल्लिखित कुनै पनि किसिमको हत्या-हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी गर्न सकिन्छ ।

यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

सर्वोच्च अदालतले के भनेको छ ?

अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘ नेपालमा पशु कल्याण ऐन छैन, कसुर सजाय गर्ने ऐन पनि छैन । त्यसैले यो ऐन तुरुन्त बनाउनु भनेर सरकारको नाउँमा अर्डर गरिपाऊँ भनेर मैले नै सर्वोच्च अदालतमा निवेदन दिएको थिएँ ।’

उनका अनुसार सर्वोच्च अदालतले २०७५ माघ २८ गते नेपाल सरकारलाई पशु कल्याणको लागि तुरुन्तै कानुन बनाउनु भनेर फैसला गर्‍यो । तर, अहिले २०८१ सालसम्ममा पनि ऐन बनिसकेको छैन ।

२०२० सालमा बनेको कानुनले गाई–गोरुको हत्या गरेमा १२ वर्ष सजाय हुने व्यवस्था गरेको थियो । यो व्यवस्थालाई यथावत् राख्दै अरू पशुप्राणीमाथि पनि कुनै पनि किसिमको निर्दयी व्यवहार भएमा स्पष्टसँग कानुनी कारबाही हुने व्यवस्था हुनुपर्थ्यो। तर, पछिल्लो कानुनले त सजाय बढाउनुको साटो घटाएको छ ।

 नेपालमा पशु हिंसा बढ्नुमा कानुनी अभाव हो वा सचेतनाको कमी ?

अधिवक्ता श्रेष्ठ भन्छन्, ‘ एउटा भनाइ छ नि  कुकुरको जन्म लिए पनि युरोप अमेरिकातिर लिन पाइयोस् त्यहाँ त मान्छेलाई भन्दा बढी माया गरेर पाल्छन् ! त्यसको अर्थ के हो भने त्यहाँ जनावरलाई गर्ने व्यवहारमा परिवर्तन भएको छ ।’ त्यहाँ जनावरलाई गर्ने व्यवहार परिवर्तन हुनुको कारण जनावरहरूको लागि कानुन छ । आफूले पालेका जनावरको बीमा, उपचार, हेरचार गर्नुपर्छ गरिएन भने कानुन बमोजिम सजाय हुने व्यवस्था छ । अधिवक्ता श्रेष्ठका अनुसार नेपालमा भने कुनै जनावरको हत्या गर्दा पनि सजाय हुने व्यवस्था छैन । यसमा सचेतना र कानुन दुवैको अभाव हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?