+

कस्तो छ टेकुमा उपचाररत् मंकीपक्स संक्रमितको अवस्था ?

२०८१ पुष  १७ गते २१:४५ २०८१ पुष १७ गते २१:४५
कस्तो छ टेकुमा उपचाररत् मंकीपक्स संक्रमितको अवस्था ?

१७ पुस, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंकीपक्स (एमपक्स) संक्रमित उपचाररत दुई युवामध्ये एक जना अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार भर्ना भएका ४४ वर्षीय युवकको भने स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

अस्पतालका निर्देशक डा. युवानिधी बसौलाका अनुसार पहिलो पटक संक्रमण देखिएर भर्ना भएका ३६ वर्षीय पुरुष हिजो (मंगलबार) डिस्चार्ज भएका हुन् ।

‘३६ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरेको छौं । गत शनिबार भर्ना हुनुभएका युवकको अहिले अवस्था सामान्य नै छ । केही दिनपछि डिस्चार्ज गछौं,’ डा. बसौलाले भने ।

उनका अनुसार मंकीपक्सका कारण आँखा, दिमाग तथा शरीरका अन्य अंगमा जोखिमको खतरा छैन ।

गत ५ पुसमा साउदी अरेबियाबाटै फर्किएका ३६ वर्षीय युवालाई मंकीपक्स पुष्टि भएको थियो ।

गत १ असारमा पहिलोपटक नेपालमा एक विदेशी महिलालाई मंकीपक्स देखिएको थियो । त्यसयता दुई जनालाई नेपालीमा मंकीपक्स देखिएको छ ।

चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।

संक्रमण भएको एकदेखि २१ दिनसम्ममा ‘एमपक्स’का लक्षण देखा पर्नेगर्छ । सुरुको अवस्थामा भने लक्षणहरु अरु संक्रामक रोगसँग मिल्दोजुल्दो नै हुन्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हुन् । यी लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा बिमिराहरू देखिन थाल्छ, जुन पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै र झर्ने गर्छन् ।

सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।

मानिसको ठूलो आवतजावतबाट एक देशमा देखिएको/फैलिएको संक्रमण अर्को देशमा पुग्न सक्ने सम्भावना उत्तिकै प्रबल रहने गर्छ । साउदी अरब, यूएई, कतारमा एमपक्स संक्रमण पुष्टि भइसकेको छ ।

रोजगारीको सिलसिलामा पुगेकाहरुको भेटघाट पनि बाक्लो हुने वा एकै कोठामा धेरै जना रहने हुँदा एमपक्स संक्रमण एकअर्कामा सर्न सक्ने जोखिम उच्च हुन्छ । विशेषगरी एमपक्स संक्रमण पहिचान हुन ढिलो भएमा धेरै मानिस एकै ठाउँमा काम गर्दा वा सँगै बस्दा सर्ने सम्भावना बढी हुन्छ ।

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

एमपक्स असुरक्षित यौन सम्पर्क वा क्रियाकलापबाट पनि सहजै सर्ने गर्छ । त्यसैले जोकोही एमपक्स फैलिएको देश वा ठाउँबाट आएको वा सम्भावित संक्रमितसँग सम्पर्कमा रहेको भए आफूलाई कम्तीमा तीन हप्ता यौन सम्पर्क वा क्रियाकलापबाट टाढा राख्नुपर्छ । यदि संक्रमित भएर निको भएको अवस्था भए तीन महिनापछि सुरक्षित तरिकाले मात्र यौन सम्पर्क गर्न सकिनेछ ।

सङ्क्रमितहरू अधिकांश पुरुष समलिङ्गी हुने गरेको भने पनि अहिले विपरीत लिङ्गीसँगको शारीरिक सम्पर्कबाट पनि यो भाइरस फैलिंदै गएको देखिन्छ । घाउ, पानी फोका वा बिबिरा सबैभन्दा बढी गुप्ताङ्ग र गुदद्वार वरिपरि हुने हुँदा सुरुमा धेरैजसो स्वास्थकर्मीसम्म पुग्ने सम्भावना धेरै कम हुन्छ ।

घाउ, पानी फोका/बिबिरा पीडादायक हुन्छ भनिए पनि हालै नेपाली संक्रमितमा देखिएको घाउ/बिबिरा पीडादायक नभए जस्तै सबैमा नहुन पनि सक्छ । यसको उपचारका लागि एमपक्स विरुद्धको विशेष एन्टी–भाइरल औषधि छैन । तर लक्षण र जटिलताको आधारमा उपचार गर्ने गरिन्छ । विशेषगरी ब्याक्टेरियल संक्रमणको जोखिमलाई निगरानी गर्दै उपचार गरिन्छ ।

मंकीपक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय