+
+

धेरैपछि चपलीमा ओली-भण्डारीका अढाइ घण्टा

एमाले अध्यक्ष बन्न चाहने भण्डारी, अनि उनलाई ‘गल लगाएर नतान्न’ पार्टी पंक्तिलाई चेतावनी दिने ओलीका बीचमा धेरैपछि चपलीमा भएको छलफलले एमालेको आन्तरिक वृत्त मात्रै होइन, राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते २२:३३

१८ पुस, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बिहीबार अपराह्न पार्टी बैठकलगत्तै पूर्वराष्ट्रपति विद्या भण्डारी भेट्न चपली निवास गए । प्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दुवैतर्फका स्रोत भन्छन्, ‘अढाई घन्टा सौहार्द वार्ता भयो ।’ तर भेटघाटका पृष्ठभूमि भने धेरै सौहार्द छैनन् ।

शीतल निवासमा दुई कार्यकाल बिताएपछि पूर्वराष्ट्रपति भण्डारी फेरि एमाले नेतृत्वमा फर्किन चाहन्छिन् ।

अनलाइनखबरसँग गत असोजमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टीमा फर्केर अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताएकी थिइन् । उनले राष्ट्राध्यक्ष बन्ने बेला नौ वर्षअघि ‘निष्क्रिय’ पारेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गरिसकेकी छन् । अनि जिल्ला–जिल्लाबाट काठमाडौं आउने एमाले नेता कार्यकर्तालाई प्राथमिकतासाथ भेट्न थालेकी छन् । एमालेमा अचेल अवसर नपाउने कार्यकर्ताका पीडा मज्जैले सुन्दिन थालेकी छन् । भण्डारीका गतिविधि, अनि उनलाई भेट्न जाने नेता–कार्यकर्ताका नाम ओलीको जानकारी बाहिर छैनन् ।

यिनै पृष्ठभूमिको प्रतिक्रियामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुई साताअघि भण्डारीबारे अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । मंसिर अन्तिम साता एमालेको संगठन विभागद्वारा आयोजित कार्यक्रम समापनमा बोल्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई यसअघिका महत्त्वपूर्ण जिम्मेवारीमा आफूले नै प्रस्ताव गरेको जस लिए । अनि उनलाई राजनीतिमा ल्याउनुपरे आफैंले प्रस्ताव गर्न सक्ने संकेत दिँदै अनावश्यक रुपमा ‘गल लगाएर नतान्न’ पार्टी नेताहरूलाई चेतावनी नै दिए । उनले यसअघि विराटनगरमा मिडियासँग बोल्ने क्रममा भण्डारीको सम्भावित सक्रिय राजनीतिको प्रसंग झिकेर पार्टीभित्र समस्या पैदा गर्न खोजिएको बताएका थिए ।

ओली–भण्डारी ‘सौहार्द वार्ता’ को पृष्ठभूमिमा यस्ता अरु पनि दृष्टान्त छन्, जसलाई मिहीन ढंगले केलाउँदै छलफल गर्न अढाई घण्टा सायद पर्याप्त हुन्थेन । ‘बीचमा राम्रोसँग उहाँहरूबीच भेटघाट छलफल नभएको लामै भइसकेको थियो,’ उच्च स्रोतले भन्यो, ‘बाहिर चर्चा र गतिविधि बाक्लै बढे, तर जे–जे भए पनि आपसी संवाद भइराख्नुपर्‍यो नि, होइन ? आज भएको त्यही हो ।’

पार्टीका उच्च तहका नेताहरूले नै भण्डारीलाई सक्रिय गराउन चाहिरहेको एमाले वृत्तमा बहसमै छ । उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू भण्डारीलाई अग्रसर गराउन छलफलमा रहेको गाइँगुइँ चलेको थियो । जसको स्पष्टीकरणमा पौडेलले केही साताअघि एमालेमा ओलीलाई प्रतिस्थापित गर्ने अर्को कुनै नेता नभएको ठोकुवा गर्दैै अन्तर्वार्ता दिनुपरेको थियो । ओलीले आफूमाथि बढ्दो चुनौतीलाई समयमै आंकलन गरिसकेका छन् ।

एमालेका नेता, कार्यकर्ताहरू दिनहुँ भण्डारी निवास चपली जान थालेपछि मंसिर अन्तिम साताको दुईदिने संगठन विभाग कार्यक्रममा ओलीले दिएको सन्देश सिधा थियो । एमाले नेतृत्वमा ७० वर्षको उमेरहद हटिसकेको छ । अनि ओली पोहोर चैतमा स्याङ्जा जिल्ला अधिवेशन उद्घाटन क्रममा आफू अझै २० वर्ष पार्टी नेतृत्वमा रहनसक्ने जिकिर गरेका थिए । पार्टीका केही नेताहरूले बताए अनुसार उनको यो अभिव्यक्ति अरु कोही नभएर पूर्वराष्ट्रपति भण्डारीको सम्भावित सक्रियतातर्फ लक्षित गर्दै दिइएको थियो ।

र, पछिल्लो अर्को प्रसंग पनि छ, जसलाई ओली सहजै पन्छाउने सक्ने अवस्थामा छैनन् । एमालेबाट निष्कासित नेता भीम रावलले बुधबार ओलीलक्षित ७४ बुँदे आरोपपत्रमा ठाउँ–ठाउँमा एमालेभित्र ओली सर्वेसर्वा बन्न जाँदा पार्टी नै शिथिल बन्न पुगेको आरोप लगाएका छन् । त्यसभित्रका कतिपय बुँदाहरूमा पूर्वराष्ट्रपति भण्डारी पनि जोडिन पुग्छिन् । काभ्रेलगायत केही जिल्लामा भण्डारी पक्षीय भन्दै समानान्तर गुट बन्न थालेको परिदृश्यलाई ओलीले नोट गरेको, सम्भवत: यस्ता विषय पनि चपली-भेटमा प्रवेश गर्न सक्ने एमाले नेताहरुले भने ।

बिहीबार ओली स्वयंले अध्यक्षता गरेको पार्टी बैठकमा सरकारमा पार्टीको कार्यक्षमता, नेतृत्वको शैली आदि विषयमा प्रश्नहरू उठेका थिए । ओली आफैंले राष्ट्रिय राजनीति सहज अवस्थामा नरहेको बताएका थिए । बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक अवस्थाको बारेमा गम्भीर विवेचना गरिएको टिप्पणी गरेका थिए ।

यसअघि असार २८ मा ओली प्रधानमन्त्री नियुक्त भएको सूचना सार्वजनिक हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका थिए । त्यसयता दुई नेताबीच बेलाबखत फोनमा कुरा हुने बाहेक खुलेर संवाद नभएको लामो अवधि भइसकेको स्रोत बताउँछ ।

एमालेको सक्रिय राजनीतिमा फर्कन चाहने भण्डारी, अनि उनलाई ‘गल लगाएर नतान्न’ पार्टी पंक्तिलाई चेतावनी दिने ओलीका बीचमा धेरैपछि चपलीमा भएको छलफलले एमालेको आन्तरिक वृत्तमात्रै होइन, राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?