
१९ पुस, काठमाडौं । देशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पहिचान बनाएको पोखरा पुग्ने जो–कोही स्वदेशी तथा विदेशी पाहुनाको भ्रमण सूचीमा पर्छ पुम्दीकोट ।
पोखरा महानगरपालिकाको वडा नं. २२ मा पर्ने पुम्दीकोट पाहुनाहरुको प्रमुख रोजाइमा पर्नुको मुख्य कारण त्यहाँबाट देखिने मनमोहक दृश्य नै हो । पोखरा मुख्य बजार क्षेत्रदेखि करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोटबाट नीलाम्ये फैलिएको तालतलैया, बजारदेखि विभिन्न हिमशृंखला एकै नजरमा नियाल्न पाइन्छ ।
पुम्दीकोटबाट पुम्दीकोट मात्रै होइन, सिंगो पोखरा अवलोकन गर्न पाउने सुविधा मिल्छ।
पुम्दीकोटमै ह्वाइट स्तूप पहिलेदेखि भएकाले बौद्ध धर्मावलम्बीसहित अन्य शान्त अनुरागी त्यहाँ पुगिरहन्थे । पछिल्लो समय पुम्दीकोटमै महादेव (शिव)को मूर्ति स्थापना भएपछि धार्मिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ ।
उत्तरतर्फ विभिन्न हिमशृङ्खलासँगै सराङकोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले पनि आन्तरिक र बाह्य पर्यटक केहीबेरलाई भए पनि पुम्दीकोट उकालो उक्लिन्छन्।
पुम्दीकोटबाट माच्छापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरूको समेत अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ ।
यहाँबाट ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, ७ हजार ९३७ मिटरको अन्नपूर्ण दोस्रो, ७ हजार ५५५ मिटरको अन्नपूर्ण तेस्रो, ७ हजार ५२५ मिटरको अन्नपूर्ण चौथो, ७ हजार ४८५ मिटरको खाङसारकाङ र ७ हजार २९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ ।
त्यस्तै ६ हजार ९९७ मिटरको माछापुच्छ्रे, ६ हजार ९८३ मिटरको लमजुङ, ६ हजार ४४१ मिटरको घान्द्रुक हिउँचुली र ५ हजार ७८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।
प्रतिक्रिया 4