+

रोहितले नेतृत्वदायी भूमिका निभाए, टिममा एकता देखिएको छ : बुमराह

२०८१ पुष  १९ गते १४:२१ २०८१ पुष १९ गते १४:२१
रोहितले नेतृत्वदायी भूमिका निभाए, टिममा एकता देखिएको छ : बुमराह

१९ पुस, काठमाडौं । भारतीय टिमका कप्तान रोहित शर्मा अस्ट्रेलियासँगको पाँचौं टेस्टका लागि टोलीमा परेनन् । टेस्ट सुरू हुनुभन्दा अघिल्लो दिनदेखि नै उनी पाँचौं टेस्ट खेल्ने कुरामा शंका उत्पन्न भइरहेको थियो जब प्रशिक्षक गौतम गम्भीरले प्रि म्याच पत्रकार सम्मेलनमा उनी खेल्ने नखेल्नेबारे स्पष्ट जवाफ दिएका थिएनन् ।

भारतीय टिमका उपकप्तान तथा पेस बलर जसप्रीत बुमराहले भने रोहितले आफ्नो खराब लय चलिरहँदा अन्यलाई मौका दिनका लागि आफैं पछि हटेको प्रतिक्रिया दिएका छन् । उनले रोहितले आफूलाई आराम दिने निर्णय लिनु भारतका लागि सकारात्मक भएको बताउँदै रोहितले आफ्नो नेतृत्वदायी भूमिका निभाएको प्रतिक्रिया दिए ।

शुक्रबारदेखि सिड्नीमा सुरू भएको टेस्टमा रोहित शर्माको ठाउँमा शुभमन गिल टोलीमा आएका छन् भने बुमराहले कप्तानी गर्दै छन् । यो श्रृंखलाका ३ खेल खेल्दा ५ इनिङ ब्याटिङ गरेका रोहितले कुल ३१ रन मात्र बनाएका छन् ।

खराब लयले निरन्तरता पाइरहेको कारण उनी प्लेइङ ११ मै नपर्ने चर्चा चलिरहँदा टिम सिरिज बराबरी गर्ने अवस्थामा जीवितै रहिरहँदा पनि कप्तान नै टिमबाट बाहिर हुनु केही हदसम्म दुर्लभ अवस्था हो ।

यसबारेमा बुमराहले रोहितको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै भारतीय टिम एकताबद्ध देखिएको प्रतिक्रिया दिए । ‘हामी सबै कुराहरूलाई सकारात्मक रूपमा लिँदै अगाडि बढिरहेका छौं । रोहित आफैंले आराम गर्ने निर्णय लिएर नेतृत्वदायी भूमिका निभाएका छन्’ बुमराहले भने ।

‘यो कुराले हाम्रो टोलीमा धेरै एकता रहेको देखाउँछ, त्यहाँ कुनै स्वार्थ छैन । टोलीको हितमा जे छ, हामी त्यही गर्न खोजिरहेका छौं’ उनले थपे ।

अस्ट्रेलियासँगको टेस्ट श्रृंखलामा भारत २-१ ले पछाडि छ । पहिलो टेस्ट जितेको भारतले त्यसपछिको खेलमा पराजित हुँदा तेस्रो टेस्ट ड्र भएको थियो भने चौथो टेस्टमा अस्ट्रेलियाले शानदार जित हासिल गरेको थियो ।

यो सिरिजलाई आइसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनल पुग्ने आधारको रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले जारी पाँचौं टेस्टमा अस्ट्रेलिया विजयी भएको अवस्थामा अस्ट्रेलिया फाइनलमा पुग्नेछ ।

ड्र वा भारत विजयी भएमा भारतको झिनो आशा जीवितै रहँदा त्यसपछि हुने अस्ट्रेलिया र श्रीलंकाबीचको टेस्टको नतिजामा निर्भर हुनेछ जहाँ श्रीलंकाको पनि सम्भावना रहन्छ ।

जसप्रित बुमराह रोहित शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय