
मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषद्बाट हटाएका छन् ।
कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरूको बारेमा सल्लाह दिने सुरक्षा परिषद्बाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरूलाई हटाइएको छ ।
बर्सामिनले आफ्नो सदस्यतालाई ‘पुनर्गठित र व्यवस्थित गर्न’ यो कदम चालेको बताएका छन् । परिषद्मा अहिले प्रमुख विधायी, रक्षा, विदेश र क्याबिनेट अधिकारीहरू सामेल छन् ।
‘अहिले परिषद्को सदस्यताको जिम्मेवारीका लागि उच्च पदस्थ अधिकारीलाई सान्दर्भिक मानिँदैन,’ बर्सामिनले पत्रकारसँग भने, ‘आवश्यकताअनुसार अन्य सदस्य वा सल्लाहकार थप्न राष्ट्रपति स्वतन्त्र हुनुहुन्छ ।’
मार्कोस र उनको परिवारलाई मार्ने धम्की दिएको आरोपमा डुतेर्तेले अनुसन्धानको सामना गरिरहेकै बेला यो कदम चालिएको हो ।
गत नोभेम्बरको अन्त्यतिर पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेकी ४६ वर्षीया छोरी साराले पत्रकार सम्मेलनमा आफ्नो हत्या भएको खण्डमा कसैले मार्कोसलाई पनि मार्ने बताएकी थिइन् । यद्यपि, पछि उनले उक्त टिप्पणीको गलत व्याख्या गरिएको बताएकी थिइन् ।
सन् २०२२ मा मार्कोससँगको गठबन्धनमा उपराष्ट्रपति सत्तामा पुगेका थिइन् । हालैका महिनाहरूमा आश्चर्यजनक रूपमा दुवै पक्षले यस वर्षको मध्यावधि चुनावअघि लागूपदार्थको व्यापक ओसार पसारका लागि आरोप प्रत्यारोप चलिरहेको छ ।
दुतेर्तेमाथि सरकारी कोषको करोडौं डलरको दुरुपयोग गरेको भन्दै महाभियोगका थुप्रै उजुरी पनि परेका छन् ।
-रासस/एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4