+
+

सटर भाडामा लगाएर विश्वविद्यालय चलाउनु पर्ने अवस्था छ : अन्जनीकुमार झा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १८:११

१९ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाले सटर भाडामा लगाएर विश्वविद्यालय चलाउनुपर्ने स्थिति रहेको बताएका छन् । शुक्रबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफलमा उनले तल सटर माथि उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय रहेको बताए ।

‘विश्वविद्यालय खोलेर आफैँ गर भन्ने मानसिकता छ । कतिपय विश्वविद्यालयले अहिले पनि तल सटर माथि भीसी, रेक्टर अफिस छ । सटर भाडामा लगाएर विशवविद्यालय चलाउने हो भने हास्यास्पद हुन्छ,’ उनले भने ।

विश्वविद्यालयमा आर्थिक सुनिश्चतता हुनुपर्ने उनको भनाइ छ । विश्वविद्यालयका पदाधिकारीलाई वर्षभरी कर्मचारीलाई तलब कसरी खुवाउने भन्ने तनाव रहेको उनले बताए ।

‘कर्मचारीलाई तलब कसरी खुवाउने भनेर पदाधिकारी मन्त्रालय धाउनुपर्ने अवस्था छ । विश्वविद्यालय खोल्दा आर्थिक सुनिश्चतता कसरी हुने हो ? प्रत्येक दिन महिना तलब कसरी खुवाउने भन्ने तानव मात्र हुने अवस्था छ,’ उनले भने ।

स्वास्थ्य निःशुल्क भन्ने तर आवश्यक बजेट सरकारबाट नआउँदा समस्या हुने गरेको उनले गुनासो गरे । ‘स्वास्थ्य निःशुल्क हुनुपर्छ । बेड निःशुल्क हुनुपर्छ । तर सरकारले बजेट सर्टेन दिने गरेको छ । त्यसैले नयाँ विश्वविद्यालय खोल्दा यो विषयमा ध्यान दिन जरुरी छ,’ उपाध्यक्ष झाले भने । नयाँ विश्वविद्यालय खोल्दा सम्बन्धनको विषय पनि स्पष्ट हुनुपर्ने उनले बताए ।

‘नाम पोखरा विश्वविद्यालय छ, सम्बधन काठमाडौंमा । नाम पूर्वाञ्चल विश्वविद्याल छ, सम्बन्धन काठमाडौंमा । जनकपुरमा राजर्षी जानकी विश्वविद्यालय छ, सम्बन्धन जुम्लामा छ । सम्बन्धन कहाँ दिने भनेर तोक्नुपर्छ । एउटैले ५०/१०० वटालाई सम्बन्ध दिएको छ । त्रिविको जस्तो सम्बनध बढाउदै जाने हो भने थेग्न नसक्ने अवस्था हुन्छ,’ उनले भने ।

विश्वविद्यालय लेखेर सम्बन्ध दिन मिल्दैन भन्न नपाइने उपाध्यक्ष झाको मत छ । यदि सम्बन्धन नदिने हो भने प्रतिष्ठान हुनुपर्ने उनको भनाइ छ । ‘विश्वविद्यालय लेखेर सम्बन्धन दिन मिल्दैन भन्न पाइँदैन । कि प्रतिष्ठान हुनुपर्छ,’ उनले भने ।

नयाँ खोल्ने विश्वविद्यालयको विषय अर्को विश्वविद्यालयको जस्तै हुन नहुने उनको राय छ ।

‘विश्वविद्यालयले नयाँ कुरा अंगिकार गरेर अगाडि बढ्नुपर्छ । भएकाले विश्वविद्यालय र प्रतिष्ठानले सुरु गरेका विषय नै सुरु गरियो भने डुप्लिकेसन मात्र हुन्छ,’ उनले भने ।

स्वास्थ्यसँग सम्बन्धित विश्वविद्यालय खोल्दा अहिले भएका प्रतिष्ठान के हुने भन्नेबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । ‘स्वास्थ्यसँग सम्बन्धित प्रतिष्ठानहरू छन् । नयाँ विश्वविद्यालय मातहत हुन्छ कि, के हुन्छ ? भोलि अदालत जाने स्थिति नआओस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?