२० पुस, काठमाडौं । स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ।
काठमाडौंको स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए । उनी ‘प्लेयर अफ द फाइनल’ पनि घोषित भए।
यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो। उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए।
उपाधिसहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो।
प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए।
यस्तै उत्कृष्ट बलर पनि निरज नै घोषित भए भने उत्कृष्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए।
तारकेश्वर युथ क्लबको आयोजनामा ८ दिनसम्म सञ्चालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक संजय अधिकारीले प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया 4