
२० पुस, लुम्बिनी (मर्चवार) । दुर्घटना न्यूनीकरणका लागि संघसंस्थासँग सहकार्य अभियान सञ्चालन गरिरहेको यातायात मजदुर तथा व्यवसायी भलाइ कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ ।
संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरू भलाइ कोषमा आबद्ध गराउने र दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने उद्देश्यले वाणिज्य संघ र भलाइ कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । संघले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको भलाइ कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
सम्झौतामा निजी तथा भाडामा चल्ने सवारीसाधनका अतिरिक्त संघमा आबद्ध व्यवसायीका मोटरसाइकल तथा स्कुटरहरू समेत कोषमा नियमानुसार शुल्क बुझाइ आबद्ध गराइने उनले बताए ।
कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई दुई सय छुट प्रदान गर्नेगरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले उल्लेख गरे ।
उनका अनुसार सवारीसाधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले बेहोर्नेछ । आफ्नो सवारीसाधनको व्यापक बिमा भएको अवस्थामा दुर्घटनाका कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत बेहोर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै, दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाइ कोषले बेहोर्नेछ । मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजनासम्मको उपचार खर्च रकम१५ लाखसम्म कोषले लगानी गर्ने सम्झौता भएको संघका अध्यक्षले कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4