+

विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी

२०८१ पुष  २० गते २०:०३ २०८१ पुष २० गते २०:०३
विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी

२० पुस, काठमाडौं । उसुका विजय सिन्जाली र करातेकी एरिका गुरुङ १९औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यक्रममा विजय र एरिकालाई जनही १ लाख नगदसहित ट्रफी प्रदान गरियो ।

प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्ट पुरस्कृत भए । दुवैले ट्रफीसहित समान ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । तेक्वान्दोकी पलेशा गोवर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित नगद १५ हजार रुपैयाँ प्रदान गरियो ।

गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए । दुवैले प्रशंसा पत्रसहित समान ३५–३५ हजार नगद पुरस्कार पाए ।

उक्त अवार्डबाहेक विभिन्न २९ खेलका खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । अवार्ड प्राप्त गर्नेमा आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन, ईस्पोर्ट्सका साहस भण्डारी छन् ।

त्यसैगरी फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी संगिता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली रहेका छन् ।

यी खेलाडीमध्येबाटै सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडीको अवार्ड प्रदान गरिएको हो । उत्कृष्ट सबैले ट्रफीसहित समान १०–१० हजार नगद पुरस्कार पाए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

अर्को संस्करणको स्थानिय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।

एनएनआईपीए स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय