
२१ पुस, काठमाडौं। शहीद गंगालाल फाउन्डेनसनले आयोजना गरेको ‘काठमाडौं सम्पदा सम्मेलन २०२५’ ले पाँच बुँदे घोषणापत्र जारी गरेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा फाउन्डेसनले आयोजना गरेको सम्मेलनले पाँच बुँदे घोषणापत्र जारी गरेको फाउन्डेसनका अध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पर्यटन, बौद्ध शिक्षा अगाडि बढाउन, विद्वानहरूको योगदान र वैश्विक परिवर्तन प्रेरित गर्नका लागि आध्यात्मिक मार्गबाट समग्र जीवनमा सामूहिक समर्पणको आवश्यकता रहेको छ ।
त्यस्तै नेपालको आध्यात्मिक, सांस्कृतिक र स्थापित विरासत संरक्षण गर्न र यसलाई अगाडि बढाउनका लागि मिलारेपाका पवित्र गुफा र आध्यात्मिक पर्यटन र त्यसको क्षमता, वास्तुकलाको स्थापित महत्त्व र चोरी भएका सांस्कृतिक कलाकृति फिर्ता गराउन फाउन्डेसन प्रतिबद्ध रहेको घोषणापत्रमा उल्लेख छ ।
काठमाडौंको ऐतिहासिक पहिचान, बज्रयान चर्यागीता र चर्यानृत्यको समृद्ध परम्परा, कीर्तिपुरको बौद्ध वास्तुकला र साहित्य लगायत नेपालका मूर्त र अमूर्त सांस्कृति सम्पदाको विरासत संरक्षण र पुनर्जीवनका लागि प्रतिबद्धता घोषणापत्रमा जनाइएको छ ।
घोषणापत्र अनुसार भूकम्पपछि पाटनको जीर्णोद्धारमा परम्परागत शिल्प कौशल, लोकेश्वर पूजामा जोडिएको तर हराउँदै गएको उपोसोधा व्रत परम्परा जसमा स्थानीय नेवार कालिगढहरूको उत्कृष्ट कला समेटिएका छन्, तिनलाई संरक्षण र बढावा दिई भविष्यका पिढीलाई सांस्कृतिक र धार्मिक महत्त्व बुझाइराख्न निरन्तर काम गरिने छ ।
त्यसैगरी दक्षिण एसियाको समृद्ध सांस्कृतिक, ऐतिहासिक र सामाजिक विविधता पहिचान गरी भविष्यका पिढीका लागि यसको संरक्षण र सम्बद्र्धन गर्न फाउन्डेसनले निकट भविष्यमा ‘दक्षिण एसियाली सम्पदा सम्मेलन’ आयोजना गर्ने घोषणा गरिएको छ ।
प्रतिक्रिया 4