+
+

चुनवाङ बैठक सम्झिँदै प्रचण्डले भने : गणतन्त्र प्राप्त मात्रै भएन, सर्वस्वीकार्य छ

चुनवाङ बैठकमा जे जस्तो अनुमान गरिएको थियो त्यसअनुसार गणतन्त्रमा पनि बुर्जुवाहरू नै हावी हुन खोजिरहेको विश्लेषण गरेका प्रचण्डले अब संसदवादी दलहरूसँग सहकार्यको जरुरत नरहेको निष्कर्ष सुनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २१:१७

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र सर्वस्वीकार्य रहेको बताएका छन् ।
आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा ३० पेजको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा चलेको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पढ्न सुरु गर्नुअगाडि प्रचण्डले आधा घण्टा बढी समय सम्बोधन गरेका थिए । त्यसक्रममा उनले चुनवाङ बैठक सम्झिएका हुन् ।

‘चुनवाङ बैठममा हामीले गणतन्त्रमा जाने भन्दै गर्दा प्राप्त हुने गणतन्त्रलाई बुर्जुजाले आफू अनुकुल प्रयोग गर्न खोज्छन् भनिएको थियो, अहिले त्यही अवस्था छ । अब प्राप्त गणतन्त्रलाई हामीले हाम्रोअनुसार बनाउन प्रयास गर्नुपर्छ,’ प्रचण्डले भनेका छन् ।

२०६२ असोजमा चुनवाङमा तत्कालीन युद्धरत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बसेको थियो । उक्त बैठकले त्यसबेलाका सात राजनीतिक दलसँग मिलेर लोकतान्त्रिक आन्दोलन अघि बढाउने निर्णय गरेको थियो ।

सोही निर्णयपछि नेपाली राजनीति नयाँ मोडमा अघि बढेको हो । १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन, अन्तरिम संविधान, अन्तरिक सरकार, संविधानसभाको चुनाव, गणतन्त्र घोषणा, संविधानसभाबाट संविधान जारी हुँदै हालसम्म आएको छ ।

चुनवाङ बैठकमा जे जस्तो अनुमान गरिएको थियो त्यसअनुसार गणतन्त्रमा पनि बुर्जुवाहरू नै हावी हुन खोजिरहेको विश्लेषण गरेका प्रचण्डले अब संसदवादी दलहरूसँग सहकार्यको जरुरत नरहेको निष्कर्ष पनि सुनाएका छन् ।

प्रचण्डले भनेका छन्, ‘नेपाली कांग्रेस र नेकपा एमाले संसदवादी दल हुन् । यी दलसँग हिजो गणतन्त्र ल्याउन सहकार्य जरुरत थियो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्न हामीले संविधान जारी भएपछि पनि सहकार्य गर्‍यौं । अझै एजेन्डागत रूपमा नजिक हुनुपर्ला । तर, आज हामी घुम्तीमा आइपुगेका छौं । क्रान्तिकारीहरूसँग मात्रै सहकार्य गरेर अगाडि जाने हो । संसद्वादी दलसँग सहकार्यको जरुरत छैन ।’

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तिकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमा आएको छ ।

उनले भनेका छन्, ‘वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भन्ने आएको छ,’ सापकोटाले भनेका छन्, ‘यसअन्तर्गत नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग एकताको लागि पहल गर्ने कुरा भएको छ ।’

संविधान संशोधनको विषयमा छलफल गर्दा राज्यका सबै संयन्त्रमा महिला सहभागिता ५० प्रतिशत पुर्‍याउन पहल गर्ने लगायतका विषय पनि प्रचण्डले अगाडि सारेका छन् ।

हाल राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने संवैधानिक व्यवस्था छ । अब संविधान संशोधन गर्दा यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउन पहल गर्ने प्रस्ताव प्रचण्डले केन्द्रीय समितिको बैठकमा राखेका हुन् ।

‘अब महिलाहरूको अधिकार ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउनका लागि पहल गर्ने विषय आएको छ,’ माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार यो विषय संविधान संशोधनको बहसमा उठाउने र आवश्यक प्रस्तावहरू अगाडि लैजाने तयारी पार्टीको छ ।

यसका साथै, दलित र मुस्लिमको अधिकार लागू गराउनसमेत भूमिका खेल्ने भनिएको छ । उनले भनेका छन्, ‘दलित र मुस्लिमको विशेषाधिकार लागू गर्ने विषयलाई पनि संविधान संशोधनको एजेन्डामा समावेश गर्ने भन्ने भएको छ ।’

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?