२३ पुस, काठमाडौं । नटिङहम फरेस्टले प्रिमियर लिगमा गएराति वुल्भ्सलाई ३-० ले पराजित गर्दै शीर्ष तीनमा पकड बलियो बनाएको छ । वुल्भ्समाथिको सहज जितले फरेस्ट अहिले लिभरपुल र आर्सनलसँगै उपाधि होडमा समेत छ ।
वुल्भ्सको मैदानमा फरेस्टलाई जिताउन मोर्गन गिब्स ह्वाइट, क्रिस उड र ताइओ अवोनियीले गोल गरे । गिब्स ह्वाइट र उडले पहिलो हाफमै गोल गर्दै फरेस्टलाई २-० को अग्रता दिलाएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अवोनियीले इन्जुरी टाइममा गोल गरेका थिए ।
यो जितपछि फरेस्टले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ६ मा घटाएको छ । १९ खेलबाट फरेस्टको ४० अंक छ । एक खेल कम खेलेको लिभरपुल ४६ अंकसहित शीर्षमा छ । अब फरेस्टले अर्को खेल लिभरपुलसँग नै खेल्नेछ ।
१९ खेलबाट ४० अंक नै रहेको आर्सनल गोल अन्तरमा अघि रहँदै दोस्रोमा छ । पराजित वुल्भ्स १६ अंकसहित १७औं स्थानमा छ ।
प्रतिक्रिया 4