
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नवौं महाधिवेशनबारे ६ महिनापछि निर्णय गर्ने निर्णय सुनाएका छन् ।
मंगलबार केन्द्रीय समितिको बैठकमा नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले यस्तो निर्णय सुनाएका हुन् । उनले भनेका छन्, ‘अबको पहिलो ६ महिना जनजागरण अभियानमा जान्छौं र त्यसपछिको अर्को ६ महिनामा महाधिवेशनतिर जाने हो ।’
पार्टीले चलाउने अभियान पनि महाधिवेशनकै तयारीको रुपमा हुने प्रचण्डले बताएका छन् ।
क्रान्तिकारी कम्युनिष्ट विचको एकताका लागि समेत पहल गर्ने प्रचण्डले बताएका छन् । उनले भनेका छन्, ‘क्रान्तिकारी कम्युनिष्टबीचको एकतापछि एकताको महाधिवेशन हुन पनि सक्छ ।’
माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति नै बनाउने भएको छ ।
प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’
प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव राखेका थिए । यसमा केन्द्रीय सदस्यहरूको सर्वसम्मत धारणा आएको भन्दै प्रचण्डले पार्टी एकता संवाद समिति तत्काल बनाउन घोषणा गरेका हुन् ।
प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने भनेका छन् ।
प्रचण्डले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको पहल गर्ने भनेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तिकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमै आएको विषय हो ।
सापकोटाका अनुसार वैज्ञानिक समाजवाद मान्नेहरूसँग एकताको लागि पहल गर्ने भनिएको हो । उनले यस अन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।
प्रतिक्रिया 4