
२३ पुस, काठमाडौं । १४ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस वक्तव्य जारी गर्दै तीन दिनसम्म च्यासलमा चलेको बैठकबाट पारित प्रस्तावहरू सार्वजनिक गरेका छन् । सार्वजनिक प्रस्तावहरूमा सत्ता गठबन्धन बलियो बनाउने, राजनीतिक स्थायित्व कायम गर्ने, युवाहरूलाई देशभित्रै रोक्ने संभावनाको खोजी गर्नेलगायत प्रतिबद्धता उल्लेख छ ।
‘सार्वजनिक प्रतिबद्धताबाहेक यसपटक हामीले आफ्नै पार्टी बारेमा रहेको भ्रम तोड्ने काम गरेका छौं,’ गौतमले भने, ‘एमालेभित्र बोल्न पाइँदैन भन्ने कपोकल्पित प्रचार खण्डन भएको छ । नेताहरूले खुलेर आफ्ना कुरा राखेका छन् ।’
प्रचार प्रमुख गौतमका अनुसार यो बैठकमा १५३ नेताले आफूलाई लागेका कुरा राखेका छन् । ‘आफूलाई लागेको कुरा खुलेर बैठकभित्रै भन्नुस्, बाहिर बोलेर गुटबन्दी गर्न पाइँदैन भन्ने अध्यक्षको सन्देश थियो,’ गौतमले भने, ‘बैठकको वातावरण पनि खुलेर आफ्ना कुरा राख्ने नै भयो ।’
झण्डै एक वर्षपछि बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए ।
मिसन ०८४ लक्षित प्रतिवेदनमाथि नेताहरूलाई आफ्ना कुरा राख्न भनिएको थियो । हरेक नेतालाई बोल्न तीन मिनेटको समय निर्धारण गरेर अध्यक्ष ओलीले सबैको कुरा सुनेका थिए ।
यसअघि एमालेमा प्रतिवेदनमाथि बोल्न नेताहरूको समूह विभाजन गर्ने प्रचलन थियो । त्यस्तो शैलीको बैठकमा अध्यक्षसहित शीर्ष नेताहरूले सबै नेताका कुरा सुन्न पाउँदैन थिए । यसपटक पार्टीभित्र आन्तरिक लोकतन्त्र रहेको पुष्टि गर्न भनेर बोल्न चाहने नेताहरूलाई हलमै कुरा राख्न दिइएको थियो ।
प्रचार विभाग प्रमुख गौतमले एमालेप्रति रहेको भ्रम तोडिएको प्रसंग बैठक सञ्चालनको यही शैलीलाई लिएर भनेका हुन् ।
नेताहरूको साझा १० निष्कर्ष
सहभागी नेताहरूका अनुसार बैठकमा एक सय ५३ जनाले कुरा राखे पनि धेरैजसोले साझा विषय उठाएका छन् । केहीले मात्र फरक प्रसंगमा बोलेका छन् ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नेताहरूले उठाएका विषयलाई १० साझा बुँदामा समेट्न सकिन्छ । ‘नेताहरूले मिल्दोजुल्दो कुरा नै राख्नुभएको छ, उहाँहरूको कुरालाई साझा बुँदामा समेट्न सकिन्छ,’ रिजालले भने ।
१. पहिलो पार्टी बनाउने आत्मविश्वास
आगामी चुनावबाट पार्टीलाई पहिलो शक्ति बनाउने गरी परिचालित हुनुपर्नेमा कुनै पनि नेताको विमति छैन । मिसन ०८४ को लक्ष्य पनि एकल बहुमतको सरकार बनाउने भएकाले तदनुरुप पार्टी कार्यक्रम तयार पारेर बढ्नुपर्नेमा नेताहरूको साझा मत छ ।
‘पहिलो पार्टी बनाउन सकिन्छ भन्ने नेताहरूमा आत्मविश्वास पनि देखिन्छ, लाग्यौं भने सक्छौं भनेरै बोल्नुभएको छ,’ केन्द्रीय सदस्य रिजालले भने ।
२. नयाँ स्वरुपको गुटबन्दी
आफूले पाएको तीन मिनेटको समयमा बोल्ने अधिकांशले पार्टी समस्याबारे कुरा गर्दा गुटबन्दीको कुरा उठाएका छन् । तर, अहिलेको एमालेमा नयाँ खाले गुटबन्दी रहेको नेताहरूको भनाइ छ ।
पहिलेमाथि गुटबन्दी हुने, र त्यसैको असर तल देखिने भए पनि अहिले तल्ला कमिटीहरूमै गुटबन्दी रहेको नेताहरूको रिपोर्टिङ थियो । ती गुटबन्दी स्थानीय तहको चुनाव, प्रदेश र प्रतिनिधिसभाको टिकटका आधारित रहेको नेताहरूको निष्कर्ष छ ।
३. एमाले बुढो पार्टी हुने पीर
युवा पुस्ताको आकर्षण एमालेमा नदेखिएको पुरानै निष्कर्ष यो बैठकमा पनि उठेको छ । ‘नयाँ पुस्ताको आकर्षण पार्टीमा भएन । उनीहरूमा देशप्रति नै वितृष्णा देखिन्छ । त्यसमा पनि हाम्रो पार्टीमा युवाहरूको आकर्षण कम भयो,’ नेताहरूको चिन्ता थियो ।
पार्टीमा युवा आकर्षण बढाउन सरकारले नीतिगत सम्बोधन नै गर्नुपर्ने सुझाव दिइएको छ । यो विषयलाई १४ बुँदे प्रस्तावमा पनि समेटिएको छ ।
‘…युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूको उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका सम्वाहकका रूपमा युवाहरूलाई परिचालन गर्न …,’ एमालेको वक्तव्यमा भनिएको छ ।
४. स्थानीय उत्पादनलाई प्रवर्धन
नेताहरूले उठाएको अर्काे विषय हो, स्थानीय उत्पादनको संभावना पहिचान गर्ने । ठूला उद्योग रातारात संभव नभए पनि स्थानीयस्तरमै रोजगार दिन सकिने उद्यमहरूको पहिचान गर्नुपर्नेमा नेताहरूको जोड थियो ।
५. कांग्रेससँग सतर्कतापूर्ण सम्बन्ध
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार धेरै नेताहरूले उठाएको साझा चिन्तामा कांग्रेससँगको सम्बन्ध पनि एक हो ।
‘अहिले कांग्रेससँग सहकार्यमा छौं । यो ठीक छ, राम्रो छ । साथसाथै कांग्रेस हाम्रो प्रमुख प्रतिस्पर्धी हो,’ रिजालले भने, ‘आगामी चुनावमा कांग्रेससँग मिलेर चुनाव लड्छन् भन्ने प्रचारबाजी गर्न खोजिंदैछ । सत्ताको सहकार्य गरे पनि चुनावी प्रतिस्पर्धा कांग्रेस हो भन्नेमा सदैव ख्याल गर्नुपर्छ भन्ने नेताहरूको कुरा छ ।’
६. समस्या नै माओवादी
कांग्रेससँग सतर्कतापूर्वक सहकार्य गर्नुपर्ने तर्क गरेका एमाले नेताहरूले माओवादीप्रति भने चर्कै आलोचना गरेका छन् ।
अध्यक्ष ओलीकै प्रतिवेदनलाई पछ्याउँदै नेताहरूले माओवादी अस्थिरताको कार्ड बनेको निष्कर्ष सुनाएका थिए । ‘माओवादीसँग विगतमा सहकार्य गरियो । यो जहिल्यै पनि कार्डमा प्रयोग भयो । अहिले पनि अस्थिरताको कार्डमा प्रयोग भइरहेको छ,’ नेताहरूको निष्कर्ष थियो, ‘कहिले कांग्रेससँग कुरा भइरहेको छ भन्दिने, कहिले एमालेसँग कुरा भइरहेको भन्दिने र संशय पैदा गर्ने गरिरहेको छ ।’
यद्यपि, माओवादी धारबाट एमालेमा आएका कतिपय नेताहरूले भने अन्य नेताहरूको निष्कर्षमा चित्त दुखाएका थिए । विशेषगरी, माओवादीको सशस्त्र विद्रोहबारे राजनीतिक प्रतिवेदन र नेताहरूको भाषणप्रति उनीहरूको दुखेसो थियो ।
७. बीआरआई सम्झौताको समर्थन
वक्ताहरूले बीआरआई फ्रेमवर्क सम्झौतामा भएको हस्ताक्षरलाई प्रशंसा गरेका छन् । यसले विकासको नयाँ सिढी खुल्ने उनीहरूको तर्क थियो ।
८. अर्थतन्त्रमा सुधार जरुरी
प्रचार विभाग प्रमुख गौतमका अनुसार सरकारले उल्लेख्य काम गरेर राजनीतिक स्थायित्वको विश्वास दिलाउने काम गरे पनि अर्थतन्त्रको सुधार अहिले पनि समस्या रहेको नेताहरूको भनाइ थियो ।
‘थुप्रै राम्रो काम यो सरकारले गरेको छ । तर जनताले अनुभूति गर्ने गरी अरु कामहरू पनि गर्न जरुरी छ भन्ने कुरा आयो,’ उनले भने । चालु आर्थिक वर्षको बजेट नै माओवादीले ल्याएकाले पनि अर्थतन्त्रलाई गति दिन समस्या भएको एमाले नेताहरूको निष्कर्ष छ ।
९. परियोजनाले गति लिएन
प्रमुख दुई राजनीतिक दलबीच नै सत्ता सहकार्य भए पनि परियोजनाहरू समयमा नसकिने समस्या हल हुन नसकेको गुनासो पनि नेताहरूले गरेका थिए ।
१०. नेतृत्वविरुद्ध घेराबन्दी
अध्यक्ष ओलीकै प्रतिवेदनअनुसार पार्टी नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको तर्क नेताहरूले गरेका छन् । तर, प्रधानमन्त्रीसँगै बस्नेहरूले प्रतिरक्षा गर्न नसकिरहेको निष्कर्ष उनीहरूले सुनाएका थिए ।
‘नेतृत्वविरुद्ध घेराबन्दी छ । खासगरी, साइबर हमला भइरहेको छ । यसको प्रतिवाद र प्रतिरोध भएन । त्यो पनि तलका कार्यकर्ताले नभएर अध्यक्ष कमरेडकै वरपर बस्नेहरूबाट पनि प्रतिरक्षा भएन,’ धेरैजसोको कुरा साझा थियो ।
तीन दिनसम्म कुरा सुनेर बसेका ओलीले बैठक समापन गर्दै भित्र भनेको कुरा बाहिर प्रचार नगर्न निर्देशन दिए ।
‘जे भन्नुपर्ने हो, भित्र बैठकमा बस्नुस् । अब बाहिर सार्वजनिक खपतका निम्ति बोलेर गुटबन्दी गर्ने छुट कसैलाई छैन’ ओलीले भनेका छन् ।
प्रतिक्रिया 4