
काठमाडौं । पछिल्लो समय विदेशबाट फर्किएर नेपालको फिल्म क्षेत्रमा संलग्न हुने युवाको संख्या बढ्दो छ । तीमध्ये एक हुन् दिव्या रायमाझी । अमेरिकाको मेरिल्याण्डस्थित टाउसन विश्वविद्यालयमा अध्ययन सकेपछि दिव्या अहिले फिल्म क्षेत्रमा भविष्य खोज्दै स्वदेश फर्किएकी छिन् ।
‘स्टार किड्स’को रुपमा उनलाई धेरैले अभिनेता दिलीप रायमाझीकी छोरीको रुपमा चिन्छन् । स्टार पिताको लिगेसीलाई पछ्याउँदै दिव्या अहिले घरेलु फिल्ममा भविष्य खोजिरहेकी छन् । संगीत, नृत्य र अभिनय विधामा भविष्य खोज्दै उनी स्वदेश फर्किएकी हुन् । उनको डेब्यु फिल्म ‘एक्टर’ प्रदर्शन तयारीमा छ । फिल्मको शीर्षमध्येको एक भूमिकामा उनी छिन् ।
धेरैले आफूलाई दिलीप रायमाझीकी छोरीको रुपमा चिन्ने गरेपनि भविष्यमा आफ्नै पहिचानले चिनिन चाहेको उनी बताउँछिन् । ‘दिलीप रायमाझीको छोरी हुनु भनेको सौभाग्यको कुरा हो । पहिलो फिल्म भएकाले पनि होला सबैले दिलीप रायमाझीकी छोरीको रुपमा चिन्नुहुन्छ । तर क्रमशः अन्य फिल्म गर्दै जाँदा मेरै पहिचानले चिन्नुहुन्छ । मेरो सोच पनि आफ्नै पहिचान र आफ्नै नामले चिनिनु हो,’ उनी भन्छिन् ।
थिएटरकी विद्यार्थी समेत रहेकी दिव्याले ‘एक्टर’मा खेल्नुअघि डान्स कक्षा पनि सिकेकी थिइन् । उनी भविष्यमा नारीप्रधान विषयवस्तुका फिल्ममा काम गर्न रुचि राख्छिन् । महिला केन्द्रित विषयवस्तु बनाउने रेनशा राईसँग काम गर्ने उनको इच्छा रहेछ । आमाबुवाको सहयोगको कारण आफूलाई फिल्म उद्योगमा आउन सजिलो भएको उनले बताइन् ।
अनलाइनखबरको स्टुडियोमा दिव्याले प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर’ र आगामी फिल्महरूबारे कुरा गरिन् । उनले फोटोसुटका लागि आकर्षक पोज समेत दिइन् । कालो र नीलो स्लिभलेस पहिरनमा उनी ‘गर्जियस’ देखिइन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4