
२५ पुस, काठमाडौं । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रीवस्तु कोल्डस्टोरले किसानसँग सहकार्य गर्दै उत्पादन खरिद तथा भण्डारण सुरु गर्ने भएको छ ।
चिस्यान केन्द्रले पहिलो चरणमा ५ सय टन (९५ हजार क्विन्टल) गाजर खरिद गरी बजार पठाउने र भण्डारण गर्ने तयारी थालेको छ ।
भाटभटेनी सुपर मार्केटद्वारा प्रवर्द्धित एग्रीवस्तु कोल्ड स्टोरले किसान, किसान समूह र कृषि सहकारीसँग समन्वय गर्दै सिधै तरकारी खरिद गर्न थालेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।
एग्रीवस्तुका प्रबन्ध निर्देशक आशिष शर्माका अनुसार चितवन र धादिङका किसानका लागि यो पहलले ठूलो राहत पुर्याउने छ ।
‘चितवन तरकारी उत्पादनका लागि प्रख्यात छ । तर, आधुनिक चिस्यान केन्द्रको अभावमा किसानले उत्पादन खेर फाल्नुपरेको समस्या समाधान गर्न पहिलो चरणमा गाजर खरिद गर्न लागेका छौं,’ शर्माले भने ।
तरकारी मात्र नभई चिस्यान केन्द्रले हाल सुन्तला र जुनार बिक्री वितरण र भण्डारण समेत सुरु गरेको छ । करिब २ सय टन सुन्तला र जुनार स्याङ्जा, पाल्पा, गोरखा र सिन्धुली लगायत जिल्लाबाट खरिद गरिएको छ । खरिद गरिएका फलफूल र तरकारी प्रशोधन गरेर मात्रै बजार पठाइने व्यवस्था गरिएको शर्माले जानकारी दिए ।
किसानलाई बजारसँग जोड्ने उद्देश्यसाथ एग्रीवस्तुले विभिन्न जिल्लामा यस्ता गतिविधि विस्तार गर्ने तयारी गरेको छ ।
हाल भाटभटेनी सुपर मार्केटसँग सहकार्य गरी उपभोक्तालाई ताजा र स्वस्थकर तरकारी तथा फलफूल आपूर्ति गर्ने योजना अघि सारिएको छ ।
किसानले आफ्ना उत्पादनका लागि सुनिश्चित बजार पाउनुका साथै उत्पादन खेर जाने समस्या समाधान हुनेछ । अर्कातर्फ, उपभोक्ताले ताजा र स्वस्थकर तरकारी तथा फलफूल प्राप्त गर्न सक्नेछन् । ‘किसानलाई आर्थिक रूपमा सबल बनाउँदै आमउपभोक्तालाई स्वस्थकर तरकारी उत्पादन आपूर्ति गर्ने हाम्रो उद्देश्य हो,’शर्माले भने ।
भाटभटेनीका सीओओ पौडेलले पनि किसानको उत्पादन सिधै भाटभटेनीका सबैजसो स्टोरबाट उपलब्ध हुने बताए ।
चिस्यान केन्द्रले उत्पादक र उपभोक्ताबीच दूरी घटाउँदै दुवै पक्षलाई लाभ पुर्याउने अपेक्षा छ ।
सुन्तला, जुनार र तरकारी उत्पादनको यस्तो व्यवस्थापनले जिल्लाका किसानको आत्मविश्वास बढाउनुका साथै कृषिमा नवप्रवर्तन गर्ने सम्भावना देखाएको आमउपभोक्ताको बुझाइ छ ।
दुर्गम तथा अतिदुर्गममा फल्ने रैथाने कृषि उत्पादन पनि सिधै किसानबाट खरिद गरेर एग्रीवस्तुले प्रशोधन तथा प्याकिङ गरी बिक्री वितरण सुरु गरेको प्रबन्ध निर्देशक शर्माले बताए ।
प्रतिक्रिया 4