
काठमाडौं । विनाशकारी डढेलोले हलिउड सहर लस एन्जलस चरम प्रभावित बनेको छ । लसएन्जलस टाइम्सका अनुसार नेपाली समयानुसार बिहीबार बिहानसम्म हलिउड हिल्समा फैलिएको नयाँ डढेलोका कारण पाँच जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा धेरै संरचना नष्ट भएका छन् ।
हलिउड सञ्चारमाध्यमका अनुसार डढेलोमा हलिउड स्टार बिली क्रिस्टल, म्यान्डी मुर्रे, पेरिस हिल्टन, जेमी ली कुर्टिसको घर जलेर ध्वस्त भएको छ । प्यासिफिक पालिसेड्स हुँदै फैलिएको आगो बुधबार राति हलिउड हिल्समा पुगेको छ । त्यहाँ वरपर बस्ने अन्य कलाकारले समेत घर छाड्नुपरेको छ ।
सबैभन्दा ठूलो आगोले प्यासिफिक पालिसेड्समा लगभग १२ हजार एकड क्षेत्र जलेको छ । यो क्षेत्र सान्ता मोनिका र मालिबुको बीचमा रहेको रमणीय थलो हो, जहाँ धेरै टेलिभिजन र संगीतका स्टार बसोबास गर्छन् । पासाडेना नजिकैको अल्टाडेना छिमेकमा आफ्नो घर गुमाएकी म्यान्डी मुरले इन्स्टाग्राममा एक भावनात्मक पोस्ट गरेकी छन् ।

पेरिस हिल्टनले आफ्नो घर जलेको फुटेज समावेश गर्दै घर गुमाएकोमा दुःख व्यक्त गरेको नोट सेयर गरेकी छन् । अभिनेता मार्क ह्यामिल, ‘द प्रिन्सेस ब्राइड’ एक्टर क्यारी एल्वेसले पनि घर जलेको भिडियो पोस्ट गरेका छन् । यस क्षेत्रमा घर भएका अन्य स्टारमा एडम स्यान्डलर, बेन एफ्लेक, टम ह्यान्क्स र स्टीवन स्पिलबर्ग समावेश छन् ।
अस्कर मनोनयन सर्यो, स्टुडियोहरू बन्द
हलिउड हिल्समा आगो फैलिएपछि त्यहाँ नजिक रहेको डल्बी थिएटरमा जोखिम बढेको छ । जसकारण अस्कर अवार्डको मनोनयन कार्यक्र दुई दिनपछि धकेलिएको छ । बुधबार रातिको लागि सेट गरिएको अन्तर्राष्ट्रिय फिचर सर्टलिस्ट स्क्रिनिङ तत्काललाई रोकिएको छ । क्रिटिक्स च्वाइस अवार्ड पनि दुई साता पछि सरेको छ ।

जोखिमका कारण प्यारामाउन्ट, नेटफ्लिक्स लगायत स्टुडियोले केही फिल्मको प्रिमियर रद्द गरेका छन् । वाल्ट डिज्नीले बरब्यांकस्थित मुख्यालय बन्द गर्दै पोस्ट प्रोडक्सन र उत्पादनका कार्यक्रम स्थगित भएको जनाएको छ । ‘ग्रेज एनाटोमी’ र ‘डक्टर ओडिसी’जस्ता सिरिजको उत्पादन रोकिएको छ । युनिभर्सल स्टुडियो र युनिभर्सल सिटी वाक बन्द भएका छन् । यसअघि कोभिड महामारीका बेला युनिभर्सलले स्टुडियो बन्द गरेको थियो ।
प्रतिक्रिया 4