
२५ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीचको क्षेत्राधिकार विवाद समाधान भइसकेको दाबी गरेकी छिन् ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बैठकमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन् ।
विगत लामो समयदेखि चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच क्षेत्राधिकार र कानुनी प्रबन्धको बारेमा अन्तरद्वन्द्व रहँदै आएको थियो ।
‘यो वर्ष चिकित्सा शिक्षा आयोगले भनेको सबैलाई दिन सकिँदैन, मापदण्ड पुगेको छैन भनिसकेपछि आयोग र परिषद् दुवैको सहमतिमा यो वर्ष क्यालेण्डर पालना गर्ने र अगाडि १०० शैय्याका अस्पताल हकमा त्यसलाई कार्यान्वयन गरी जाने कुरामा सहमति भएको छ,’ शिक्षामन्त्री भट्टराईले जानकारी गराइन् ।
सिटीइभिटीको परिषद् र सभाको बैठक लामो समयदेखि बस्न नसकेकोमा आफूले आएपछि सुधारको प्रयत्न गरिरहेको उनको भनाइ थियो । बिहीबार समिति बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ ।
प्रतिक्रिया 4