२५ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित महिला फुटबल प्रतियोगिता नेपालमा आयोजना गर्दैछ जसमा आयोजक नेपालसहित एसियाका चार राष्ट्रले खेल्नेछन् ।
फेब्रुअरी १७ देखि २६ (फागुन ५-१४ गते) सम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालसहित एसियाको म्यानमार, कीर्गिस्तान र लेबनानको महिला टोली सहभागी हुनेछन् ।
फिफाको अन्तर्राष्ट्रिय विन्डोको समयमा उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाबाहेक बाहिरका टोलीहरुसँग पनि खेल्दै आएको छ ।
ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपालले गत वर्ष फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिप खेलेको थियो । यसपटक नेपालले घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेल्न लागेको हो ।
मिसन महिला विश्वकप २०२७-२०३१ को लक्ष्य राखेको एन्फाले महिला फुटबललाई प्राथमिकतामा राख्ने बताएको थियो । तर अझै पनि स्पष्ट खाका र संरचनामा महिला फुटबलको विकास हुन भने सकेको छैन ।
महिला लिगको संरचना, अन्तर्राष्ट्रिय प्रतियोगिता, नियमित प्रशिक्षक र मैत्रीपूर्ण खेलहरुको व्यवस्थापनमा एन्फाले अझै पनि राम्रो योजना बनाएर काम गर्न सकेको छैन । कहिलेकाँही हुने खेलले मात्र विश्वकप खेल्ने सपना साकार पार्न कठिन हुन्छ ।
नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक गत नोभेम्बरमा घरेलु मैदानमै साफ महिला च्याम्पियनसीप खेलेको थियो । दशरथ रंगशालामै खेभएको उक्त प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । अहिलेसम्म साफमै च्याम्पियन बन्न नसकेको नेपालका लागि एसिया कप हुँदै विश्वकपसम्म पुग्न उत्तिकै चुनौती छ ।
यस आलेखमा भने हामी महिला विश्वकपको लक्ष्यभन्दा अब हुने फोर नेसन्स कप महिला फुटबलको बारेमा चर्चा गर्नेछौं । जहाँ सहभागि हुने चार टोली र बाँकी तीन टोलीसँग नेपालको हेड टु हेड बारे यहाँ चर्चा गरिएको छ ।
नेपाल (फिफा वरियता : १०३)
नेपाल आयोजक टोली हो । फिफा वरियतामा नेपाल १०३औं स्थानमा छ । घरेलु टोली भएकोले घरेलु मैदान र दर्शकको साथ नेपाललाई हुनेछ । नेपालले यस प्रतियोगिता खेल्ने तीनवटै टिमसँग विगतमा खेलिसकेको छ र यसपटक घरेलु मैदानमा खेल्दा फाइदा हुनेछ ।
यद्यपी नेपालले अहिलेसम्म म्यानमारसँग तीन खेल खेलिसक्दा उसलाई हराउन सकेको छैन । कीर्गिस्तान र लेबनानसँग भने नेपालले एक-एक खेल खेलेको छ र दुवै टिमलाई पराजित गरेको छ ।
दक्षिण एसियामा नेपाल बलियो टोलीमध्ये एक रहेपनि अहिलेसम्म साफ वुमन्स च्याम्पियनसिप भने जित्न सकेको छैन । नेपाल ६ पटक साफको फाइनलमा पुग्दा ६ पटक नै पराजित भएको थियो ।
पछिल्लो तीन संस्करण नेपाल घरेलु मैदानमै खेल्दा पनि फाइनल चुक्यो । अझ पछिल्लो दुईपटक त नेपालले दशरथ रंगशालमै खेलेको थियो र दुवै अवसरमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित हुँदै उपाधिबाट वञ्चित रह्यो ।
यस्तै गत वर्ष खेलेको वाफ च्याम्पियनसिप फाइनलमा पनि नेपाल जोर्डनसँग पराजित भयो ।
म्यानमार (फिफा वरियता : ५५)
म्यानमार फोर नेसन्स महिला फुटबल प्रतियोगिता खेल्ने मध्ये सबैभन्दा बलियो टोली हो र उपाधिको प्रबल दाबेदार पनि हो । म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा फेब्रुअरी १७–२६ सम्म हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सबैभन्दा उच्च वरीयता प्राप्त टोली हो म्यानमार । पाँचपटक एएफसी महिला एसियन कपमा खेलिसकेको म्यानमार दक्षिणपूर्वी एसियाली महिला फुटबलमा एक शक्तिशाली टोलीका रूपमा रहेको छ ।
म्यानमारले पछिल्लो पटक सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कप खेलेको थियो । म्यानमारले अहिलेसम्म नेपालसँग हार व्यहोर्नुपरेको छैन । त्यसैले घरेलु टोली नेपालविरूद्ध पनि म्यानमारको विगत राम्रो छ ।
नेपालले म्यानमारसँग अहिलेसम्म तीन खेल खेल्दा जितविहीन छ । जसमा म्यानमारले दुई खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ ।
सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० ले पराजित भएको थियो भने फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो ।
कीर्गिस्तान (फिफा वरियता : १२८)
कीर्गिस्तान फिफा वरियतामा १२८औं स्थानमा छ । यस प्रतियोगिता खेल्ने मध्ये वरियताको आधारमा कीर्गिस्तान तेस्रो नम्बरमा छ ।
कीर्गिस्तानसँग नेपालले अहिलेसम्म एक खेल खेलेको छ । सन् २०१९ कीर्गिस्तानमै भएको नादेज्दा कपमा नेपाल ८-२ ले विजयी भएको थियो ।
कीर्गिस्तानले सन् २०२२ मा भएको सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा) च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको थियो ।
लेबनान (फिफा वरियता : १३४)
प्रतियोगिता खेल्ने मध्ये सबैभन्दा तल्लो वरियतामा रहेको टोली हो लेबनान । यो टोलीसँग नेपालले दोस्रोपटक खेल्न गइरहेको छ ।
यसअघि गत वर्ष साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपमा नेपालले लेबनानसँग खेलेको थियो । वाफको सेमिफाइनलमा नेपालले लेबनानलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो ।
त्यस खेलमा नेपालका लागि प्रीति राईले विजयी गोल गरेकी थिइन् । एक गोलले पछि परेको अवस्थामा साबित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।
सन् २०२२ मा भएको वाफ च्याम्पियनसिपमा भने लेबनान उपविजेता बनेको थियो ।
प्रतिक्रिया 4