+

प्रधानमन्त्री कप क्रिकेट खेल्ने सुदूरपश्चिमको टोली घोषणा

२०८१ पुष  २८ गते १२:२३ २०८१ पुष २८ गते १२:२३
प्रधानमन्त्री कप क्रिकेट खेल्ने सुदूरपश्चिमको टोली घोषणा

२८ पुस, काठमाडौं । आगामी माघ १ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप टी२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आइतबार बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । २८ वर्षीय बिन्दु नेपाली महिला राष्ट्रिय टिमकी समेत सदस्य हुन् । उनले ३२ टी२०आई खेलेकी छन् ।

अन्य खेलाडीमा मञ्जु विष्ट, रितु कनौजिया, मनिसा बोहरा, कविता कुवँर, रविना धामी, शोभा रोकाया, आशिका महरा, करिष्मा थापा, मनिषा खत्री, जानकी थापा, रविना साउद, रेवती धामी, चेतना कुँवर छन् ।

कविता र चेतना पनि राष्ट्रिय टिमबाट खेल्ने खेलाडी हुन् । टिमको प्रशिक्षकमा निरज चन्द छन् भने सहायक प्रशिक्षक तथा फिजियोमा दिपेन्द्र बोहरा र व्यवस्थापकमा पार्वती बोहरा छन् ।

यसअघि बागमती प्रदेशको टोली पनि घोषणा भइसकेको छ । माघ १ देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुने प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ ।

सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ ।

प्रधानमन्त्री कप महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय