२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपाल पुलिसले बागमती प्रदेशलाई हराएको छ । पुलिसले बागमतीलाई ५ विकेटले हराएको हो ।
बागमतीले दिएको ११६ रनको लक्ष्य पुलिसले २३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पुलिसका लागि अमित श्रेष्ठले अर्धशतक प्रहार गरे । उनले ५६ तथा कुशल भुर्तेलले ३२ रन बनाए ।
बागमतीले पुलिसविरूद्ध दोस्रो इनिङमा ११५ रनको अग्रता बनाउँदै ११६ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङमा बागमती २१८ रनमा अलआउट भएको थियो । शुभ कंसाकारले ७० तथा रित गौतमले ५२ रन बनाए ।
पुलिसका ललित राजवंशीले ३ विकेट लिँदा श्रवण यादवले २ तथा गुल्शन झा, कुशल भुर्तेल, राशिद खान र प्रेम तामाङले १-१ विकेट लिए ।
खेलको पहिलो इनिङमा बागमती ११२ रनमा अलआउट भएपछि पुलिसले जवाफमा २१५ रन जोडेको थियो ।
पुलिसले अब मंगलबारदेखि हुने तीन दिवसीय फाइनलमा आर्मीसँग खेल्ने छ ।
प्रतिक्रिया 4