२८ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकप २०२५ यही जनवरी १८ देखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो जहाँ १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक मलेसिया र नेपालजस्ता टोलीले पहिलो पटक यू-१९ महिला विश्वकप खेल्दैछन् । यस लेखमा हामी यू-१९ महिला विश्वकपको समूह ए मा रहेको टोलीहरुको बारेमा जानकारी दिनेछौं ।
यस समूहमा साविक विजेता भारत सहित आयोजकको रुपमा डेब्यु गर्न लागेको मलेसियासँगै श्रीलंका र वेष्ट इन्डिज छन् । यस समूहको खेलहरु पान्डामारानस्थित बायुमास ओभलमा हुनेछ ।
कस्ता छन् त समूह ए का चार टिम?
मलेसिया
आयोजक मलेसिया आईसीसी यू-१९ महिला टी२० विश्वकपमा डेब्यु गर्दैछ । एसिया क्वालिफायरमा चौथो भएपछि मलेसिया सन् २०२३ मा भएको यू-१९ महिला विश्वकपको पहिलो संस्करणमा छनोट हुन सकेन ।
यसपटक भने आयोजकको रुपमा मलेसियाले सिधै विश्वकपमा स्थान बनाएको हो । मलेसियाले केही समयअघि मात्रै पहिलो संस्करणको यू-१९ महिला टी२० एसिया कप आयोजना गरेको थियो ।
मलेसियाकी कप्तान नुर दानिया सुहादाले बल र ब्याट दुवैमा टिमको नेतृत्व गर्नेछिन् । सिनियर टिमबाट खेलिसकेको अनुभव रहेको नुरले त्यसलाई घरेलु मैदानमा भरपुर प्रयोग गर्ने अपेक्षा छ ।
नुर सुहादासँगै विकेटकिपर ब्याटर नुर आलिया बिन्ती मोहद हाजरुनले शीर्ष क्रमको ब्याटिङ सम्हाल्नेछन् । नुर सुहादाको अफ ब्रेकमार्फत बलिङ अट्याको नेतृत्व गर्नेछिन् जसमा स्पीनर मार्स्या किस्टिना बिन्ती अब्दुल्लाह र सिमर नुर इस्मा दानिया बिन्ती मोहद डानिएलले साथ दिनेछन् ।
भारत
दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको यू-१९ महिला टी२० विश्वकपको उपाधि जितेको भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित मलेसिया पुगेको छ ।
पहिलो संस्करणमा उपाधि जित्दा टिममा रहेका गोन्गाडी तृशा, शाबनम साकिल र सोनाम यादव तीन जना अहिलेको टिममा पनि छन् । उनीहरुलाई टिमलाई कसरी उपाधि दिलाउने भन्ने जानकारी छ ।
गत महिना भारतले यू१९ महिला एसिया कप जित्दा तृशाले ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । बंगलादेशविरूद्ध फाइनलमा अर्धशतक प्रहार गरेकी उनले सर्वाधिक १५९ रन बनाएकी थिइन् ।
तृशा र जी कामालिनीले टप अर्डर सम्हाल्ने छन् । यी दुईसँगै अन्य केही खेलाडीसँग वुमन्स प्रिमियर लिग क्रिकेटको अनुभव छ । जसमा कप्तान निजी प्रसाद पनि छिन् ।
अनुभवी शाकिल र सोनाम यादवले बलिङ अट्याकलाई लिड गर्नेछन् । उनीहरुलाई भिजे जोशिथा र आयुशी शुक्लाले साथ दिनेछन् । यू१९ एसिया कपमा आयुशीले सर्वाधिक १० विकेट लिएकी थिइन् ।
श्रीलंका
यस समूहमा रहेको अर्को टिम श्रीलंका पहिलो संस्करणको भन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ । पहिलो संस्करणमा श्रीलंका सुपर सिक्स सम्म पुगेको थियो । यस पटक त्यसमा सुधार गर्ने लक्ष्यमा छ ।
दुई वर्षअघि समूह चरणमा अमेरिकालाई हराएपछि श्रीलंका सुपर सिक्समा पुगेको थियो । तर सेमिफाइनलसम्म भन्ने पुग्न सकेन । यस्तै केही समयअघि भएको यू१९ महिला एसिया कपमा समूह चरण पार गरेपनि भारतसँग पराजित भएपछि फाइनल पुग्न सकेन ।
२३ जनवरीमा भारतसँग यू१९ विश्वकपमा भिड्दा श्रीलंकासामु बदला लिने मौका हुनेछ । चामोदी प्राबोडा श्रीलंकाको मुख्य बलरको रुपमा हुनेछिन् । १५ वर्षीय चामोदीले एसिया कपमा भारत विरुद्ध १६ रन खर्चेर ३ विकेट लिएकी थिइन् । यस्तै अर्की स्पीनर शासिनी गिम्हानीले पनि राम्रो खेलेकी थिइन् ।
कप्तान मानुडी नानायाक्कारा ब्याटबाट खतरनाक बन्न सक्छिन् । उनले यू१९ एसिया कपमा मलेसिया विरुद्ध ४० बलमा ७४ रन बनाएकी थिइन् ।
मानुडीसँगै लिमान्सा थिलाकाराथ्न र विकेटकिपर ब्याटर सुमुदु निसान्सालालेले मिडर अर्डर बलियो बन्नेछ । यस्तै ओपनर सन्जाना काभिन्डीले राम्रो सुरुवात दिने अपेक्षा छ ।
वेष्ट इन्डिज
दुई वर्षअघि सुपर सिक्समा पुगेको वेष्ट इन्डिज पनि यसपटक त्योभन्दा राम्रो नतिजा ल्याउने लक्ष्यमा छ । वेष्ट इन्डिजले पनि सन् २०२५ को प्रतियोगितामा सिधै स्थान बनाएको थियो ।
सन् २०२३ को पहिलो संस्करणमा वेष्ट इन्डिज दक्षिण अफ्रिका भन्दा पछि दोस्रो स्थानमा थियो । समूहमा वेष्ट इन्डिजले आयरल्याण्ड र इन्डोनेसियालाई पराजित गरेको थियो । तर सुपर सिक्समा रुवान्डा र इंग्ल्याण्डसँग पराजित भएपछि सेमिफाइनल पुग्न भने सकेन ।
अलराउण्डर सामारा रामनाथले वेष्ट इन्डिजको नेतृत्व गर्नेछिन् । १७ वर्षीय सामाराले वुमन्स क्यारेबियन लिगमा ट्रिनबागो नाइट राइडर्समा पाएको अनुभव यू१९ विश्वकपमा प्रयोग गर्ने विश्वास छ ।
उनलाई उपकप्तान असाबी कालेन्डरले साथ दिनेछन् । दोस्रो पटक यू१९ महिला टी२० विश्वकप खेल्न लागेकी तीन खेलाडी मध्ये असाबी पनि एक हुन् ।
बलर जाहजारा क्लाक्सटन र अलराउण्डर नाइजान्नी कुम्बेरबाचले पनि दोस्रो पटक विश्वकप खेल्दैछन् । यसको अर्थमा मलेसियामा खेल्दा वेष्ट इन्डिजसँग अनुभी खेलाडीहरुको साथ हुनेछ ।
प्रतिक्रिया 4