+
+

नेपालमा भारतीय ट्रक निर्वाध आवागमन : अधिक भारको मारमा संरचना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते २०:०१
अत्यधिक भारका कारण शुक्रबार दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको थियो ।

२८ पुस, काठमाडौं । नेपालमा भारतीय मालवाहक ट्रकको निर्वाध आवागमन र उनीहरूमाथिको कमजोर नियमनले पुलसहित संरचना जोखिममा पर्न थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार एकातर्फ भएका तौलपुल उपयोगमा ल्याइएको छैन भने अर्कातर्फ सडकमा पर्याप्त तौलपुल राख्न सकिएको छैन । यसले अर्बाैं लगानीका संरचनालाई जोखिममा पारिरहेको महासंघको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भारतीय ट्रकको निर्वाध आगावमनका कारण मुलुकभित्रका ट्रक व्यवसायी समस्यामा रहेको बताउँछन् ।

‘हाम्रा ठूला लगानीका संरचना भारतबाट आउने अधिक भार थेग्न सक्षम छन् वा छैनन् भन्ने निश्चित नगरी निर्वाध गुड्न दिइएको छ,’ उनी भन्छन्, ‘यसले हाम्रा व्यवसायी मारमा मात्र परेका छैनन्, संरचनामा समेत क्षति पुगिरहेको छ ।’

गत शुक्रबार नवलपुर दुम्कीबास विनयी खोलामा भारतीय मालबाहक ट्रक ‘एनएल ०१ ए एच ५१६१’ नम्बरको सवारीसाधनले पुललाई ठक्कर दिँदा पुल नै भत्किएको छ । यो सवारीसाधनले ६० टन सामान बोकेको पाइएको महासंघ महासचिव डेकनाथ गौतमले जानकारी दिएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा निर्माण भएका अर्बौं लागतका पुलमा क्षमताभन्दा बढी मालसामान ल्याएका यस्ता सवारीसाधन चलाउँदा पुलमा क्षति पुग्नु र १२ घण्टाभन्दा बढी समयसम्म हजारौं सवारीसाधन र यात्रुले सास्ती पाउने अवस्था आएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उनी बताउँछन् ।

महासंघले भारतीय ट्रकलाई भन्सार बिन्दुमै सामान लोड–अनलोड गर्ने व्यवस्था मिलाउन माग गरेको छ । साथै, तत्काल तौलपुल सञ्चालनमा कार्यदल बनाइ कार्यविधि बनाउन समेत महासंघले माग गरेको छ ।

अहिले भारतीय ट्रकले ७२ घण्टे सुविधामा नेपालभित्र निर्वाध सञ्चालन अनुमति पाउने गरेका छन् । भारतीय ट्रकको निर्वाध सञ्चालन नियमन नगरे महासंघले कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

नेपालभित्र अहिले ३ लाख ४० हजार यात्रुवाहक सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । ढुवानीका सामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा छन् । यस प्रकार सार्वजनिक यातायात क्षेत्रमा मात्र ४ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेको महासंघले जनाएको छ ।

यस क्षेत्रमा १२ खर्ब रुपैयाँ नेपाली पूँजी लगानी रहेको र १५ लाख नागरिकले प्रत्यक्ष रोजगारी पाएको समेत महासंघको दाबी छ । जसमा ४० लाख परिवार आश्रित छन् । यति ठूलो लगानी भएको क्षेत्रमा समेत सरकारले ध्यान नदिएको र भारतीय ट्रकलाई निर्वाध चल्न दिँदा स्वदेशी व्यवसायी समस्यामा परेको महासंघको भनाइ छ ।

उता, नेपाल ट्रक व्यवसायी व्यवसायी महासंघले समेत अत्यधिक भारले पुल भत्किएको सम्बन्धमा सोमबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?