
२९ पुस, काठमाडौं । बबरमहल रिभिजिटेडमा एक वर्षअघि यो पंक्तिकारसँग भेट हुँदा चुङ्बा शेर्पाले आफूले खिचेका फोटा क्यामेरामा देखाउँदै भनेका थिए– मसँग जे छ, अरुसँग छैन। त्यतिबेला थोरै घमण्ड र धेरै आत्मविश्वास मिश्रित भावमा देखिन्थे उनी ।
एक महिनाअघि चप्पल कारखानास्थित निवासमा भेट हुँदा भने उनमा पहिलेको जस्तो चमक थिएन । धेरै निराशाको भाव थियो उनमा ।
उनले भनेका थिए– खानै रुच्दैन । श्रीमती हुँदासम्म कर गरेर भए पनि खुवाउँथी ।
उनको भनाइमा अर्थ लगाउन सकिन्थ्यो, खानाको अरुचि जीवनसंगीनी आङफुटी शेर्पासँगको बिछोडपछि सुरु भएको थियो । लामो समय थलिएपछि करिब ६ महिनाअघि चुङ्बालाई एक्लै छाडेर उनकी जीवनसंगीनी परमधाम भइन् । कोरोना महामारीको लकडाउनका बेला उनले माइली छोरी मिङ्मालाई गुमाएका थिए । २८ पुसको राति चुङ्बा पनि परलोक भए ।
चुङ्बा राजनीति, समाजसेवा र व्यवसायमा संलग्न थिए । तर उनलाई नाम भने सोखले रोजेको वाइल्डलाइफ फोटोग्राफीले दिएको थियो । उनले दुर्लभ हिउँ चितुवा, हिमाली याकसहित थुप्रै जंगली जनावर र चराहरुका चित्ताकर्षक फोटा क्यामरामा कैद गर्न सफल भएका थिए ।
बबरमहल रिभिजिटेडको गुन्द्रीमा बसेर गफिँदा चुङ्बाले भनेका थिए, ‘रिटायर्ड लाइफ कसरी बिताउने भनेर फोटो खिच्न थालें । पछि यसमै नशा बस्दै गयो । पछि लेटेस्ट क्यामेरा र लेन्स लन्च भएको थाहा पाउनेवित्तिकै किन्न थालें । मसँग भएका क्यामरा एनिमल प्लानेट, डिस्कभरी, नेशनल जियोग्राफी जस्ता च्यानलले प्रयोग गर्ने खालका छन् ।’
सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिकाको लुक्ला घर भएका उनी तत्कालीन चौंरीखर्कको पूर्व गाविस अध्यक्ष भएका थिए । प्रधानपञ्च हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका उनी खुम्बु पासाङल्हामु गाउँपालिकाको कांग्रेस सभापति समेत बने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेर पनि उनले योगदान गरे ।
लामो समय यती एयरलाइन्समा जागिर र होटल व्यवसायको अनुभव संगालेपछि ५७ वर्षको उमेरमा फोटोग्राफीमा हात हालेको बताउँथे उनी । जीवनको उत्तरार्धतिर क्यामेरामा हात हालेका उनी छोटो समयमै चर्चाको शिखरमा पुगे ।
उत्कृष्ट तस्वीर खिचेका कारण उनी विश्व वन्यजन्तु कोष (डब्ल्यू.डब्ल्यू.एफ.) सहित विश्व प्रतिष्ठित अन्तर्राष्ट्रिय संघसंस्थामा जोडिन पुगेका थिए । नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यटन विभाग जस्ता सरकारी निकाय पनि उनकै फोटोमा भर पर्न थालेका थिए । माइतीघर मण्डलासहित नेपालका प्रमुख शहरका चोक र पर्यटकीय क्षेत्रमा उनले नै खिचेका संरक्षित वन्यजन्तुका फोटा ठूला–ठूला होर्डिङ बोर्डमा राखिएका थिए ।
घाँसपात जस्ता देखिने कपडा, टेन्ट र क्यामरा कभर लगाएर जंगलमा हप्तौं बिताउथे उनी । हिमालको चिसोमा हिउँ चितुवाको फोटो खिच्न एक महिना लगातार पर्खिनु पर्दाको दुःख सुनाउँथे । बाघ र हात्तीको आक्रमणबाट बालबाल जोगिएका किस्सा सुनाउँथे ।
अनि रोमान्टिक मुडमा फिल्मी डायलग सुनाउँथे, ‘जो डर गया, ओ मर गया ।’
अनकन्टार जंगलमा र चिसो हिमालमा भोकभोकै दिनरात बिताउने साहस कसरी जुट्छ ? पंक्तिकारको प्रश्नमा उनी भन्थे, ‘प्यासनले ।’
साँच्चै भन्ने हो भने उनमा फोटो खिच्ने भोक थियो । त्यो पूरा गर्न उनी हिमालदेखि तराईका फाँटसम्म भौंतारिन्थे जसरी भोकाएको शेर जंगलमा आहारा खोज्दै डुल्छ ।
मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, लाङटाङ, लुम्बिनी, कपिलवस्तु, कञ्चनजंघा, बाँके, बर्दिया, शुक्लाफाँटा, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन, कोशी टप्पु, इलामलाई उनले फोटोग्राफीमार्फत् प्रचार गरे ।
फोटो खिच्न उनी नेपालका सबै राष्ट्रिय निकुञ्जमात्र होइन विदेश पनि पुगे । तान्जानिया पुगेर दुर्लभ सर्भल क्याट क्यामरामा कैद गरे । कहिले विद्यार्थीलाई अनुभव सुनाउन स्कुल–स्कुल पुगे । कहिले आफ्ना फोटा प्रदर्शनीमा सहभागी भए । एक प्रकारले भन्दा उनले सक्रिय जीवन जिए ।
उनको यो निष्फिक्री घुमघाममा जेठा छोरा डाक्टर छेवाङ, लुक्लामा होटल चलाइरहेका कान्छा छोरा सोनाम, जेठी छोरी पासाङ र कान्छी छोरी पाइलट बन्दाफुटीको समर्थन थियो । त्यसैले त उनी देशविदेश पुगिरहन्थे । आफ्नो फोटोग्राफीको सोखमा पैसा खर्चिन्थे ।
यत्रो खर्च गर्दा कमाइ चाहिँ कति हुन्छ ?
यो प्रश्नमा उनी फिस्स हाँसेर भन्थे– ‘यो मेरो सोखको काम हो । पैसा माग्दैन । फोटो चाहियो भन्नेलाई दिन्थें ।’
उनले पैसा लिन्थे कि लिँदैनथे त्यो त थाहा छैन । तर उनले असंख्य वन्यजन्तुका फोटा र सुन्दर नेपालको प्रचार गरेर पर्यटन प्रवर्द्धनमा योगदान दिए ।
एक महिना अघि आफ्नै निवासमा सगरमाथा आरोही पुरुषोत्तम नेपालीसँगै यो पंक्तिकारलाई उनले सुनाएका थिए, ‘अब भान्जाको निम्तोमा पुस २९ गते बैंकक जानु छ । उतैबाट म्यानमारतिर पनि पुगेर फोटो खिच्नुपर्ला ।’ तर बैंकक उड्ने अघिल्लो दिन उनको जीवनयात्रा नै रोकियो ।
प्रतिक्रिया 4