+
+

‘हरि हजुरबा’ बन्यो मण्डलामा धेरै कमाउने ५ मध्येको नाटक, शीर्षस्थानमा ‘खुवालुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १४:१२
‘हरि हजुरबा’मा अभिनय गर्दै नाजिर हुसेन (बायाँ) र विजय बराल ।

काठमाडौं । नाजिर हुसेन र विजय बराल अभिनित ‘हरि हजुरबा’ धेरै कमाउने मण्डला थिएटरको नाटकमध्ये शीर्ष ५ मा पर्न सफल भएको छ । नाटक घरका कार्यवाहक अध्यक्ष बुुद्धि तामाङका अनुसार द्वन्द्वकालको परिवेश दर्शाउने यो नाटकले २२ लाख ग्रस कमाइ गरेको छ ।

उनका अनुसार २७ शोमा नाटकलाई ४ हजार दर्शकले हेरे । झण्डै एक महिना चलेको नाटकमा प्रिमियरदेखि समापनसम्मै दर्शकको खचाखच सहभागिता रह्यो ।

सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’मा देखिएको विजय बरालको क्रेज नाटक ‘हरि हजुरबा’मा पनि देखिएको अनुमान छ ।

कार्यवाहक अध्यक्ष तामाङका अनुसार ‘खुवालुङ : ढुंगाको बाटो’ पछिल्लो समय मण्डलामा धेरै कमाउने नाटकमध्ये पर्छ जसले २७ लाखभन्दा धेरै ब्यापार गरेको थियोे । बुद्धि निर्देशन रहेको ‘मासिन्या’ र अर्को नाटक ‘चोरको स्वर’ले पनि राम्रो कमाइ गरे । ‘डिग्री माइला’ र ‘मीतज्यू’ पनि धेरै कमाउने नाटकमध्ये पर्छन् ।

दर्शकीय चाप बढेपछि नाटक घरले शो संख्यामा वृद्धि गर्दै आएको थियो । ‘पछिल्लो समय नाटकको क्रेज बढेको छ’ तामाङ भन्छन्, ‘दैनिक आउने दर्शकको संख्या बढेको छ । युवावर्गमा नाटकको आकर्षण पनि बढेको छ ।’

मण्डलाले यसवर्ष घोषणा गरेका १४ नाटकमध्येको यो चौंथो नाटक हो । पाँचौ नाटकको रुपमा पशुपति राईले निर्देशन गर्ने नाटक लाइनअपमा छ । साथै, चैत ७ गतेदेखि मण्डलामा अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?