
काठमाडौं । फिल्मकर्ममा २० वर्षभन्दा धेरै समय योगदान दिएका ९७ जना फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गरेको छ । सोमबार आयोजित समारोहमा अध्यक्ष दिनेश डीसीले परिचयपत्र प्रदान गरे ।
अध्यक्ष डिसीले फिल्मकर्मीको पेशागत पहिचान, सुरक्षा, र सम्मान सुनिश्चित गर्न परिचयपत्र महत्वपूर्ण कदम भएको बताए । ‘यो कदमले चलचित्रकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ’ उनले भने ।
कानूनी सुरक्षा, सरकारी सेवा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य राखेको अध्यक्ष डीसीले बताए । ‘परिचयपत्रले फिल्मकर्मीको तथ्यांकको अभिलेख राख्न सहयोग पुग्ने र उद्योगलाई व्यवस्थित बनाउने अपेक्षा हामीले राखेका छौं’ उनले भने ।
फिल्मकर्मीको सामाजिक सम्मानमा वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्वपूर्ण हुने बोर्डले जनाएको छ ।
कार्डमा क्यूआरसहितको डिजाइन गरिएकोले यसको विश्वशनीयता अझ बढि हुने विश्वास बोर्डले लिएको छ । बोर्डले वर्षेनी विशिष्ट चलचित्रकर्मी, चलचित्रर्मी, विशेष चलचित्रकर्मी र मानार्थ चलचित्रकर्मी शीर्षकमा परिचयपत्र प्रदान गरेको छ । परिचयपत्र प्राप्त गर्नको लागि चलचित्रकर्मीले बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया 4