
काठमाडौं । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम’को प्रदर्शन मिति तय भएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै निर्माताले ९ फागुनदेखि फिल्म रिलिज हुने जनाएका हुन् ।
सार्वजनिक पोस्टरमा शीर्ष कलाकार फिचर्ड छन् । पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज चित्रित छन् । रङ संयोजक समेत रहेका प्राविधिक गहतराजले यसबाट निर्देशकको रुपमा करिअर थालेका हुन् ।
कमल कार्की र गोपाल कटुवाल लगायतको अभिनय यसमा छ । महाशिवरात्रीको छेकोमा प्रदर्शनमा आउने फिल्ममा धर्मबारेको कथावस्तु पनि समेटिएको उल्लेख छ ।
नवविवाहित जोडी जो पहिलो सन्तानलाई स्वागतको तयारीमा छन् । यसबीच आउने अकल्पनीय घटनाको उतारचढावको कथा फिल्ममा समेटिएको छ । फिल्मलाई पारिवारिक कथावस्तुमा बनेको एक्सन थ्रीलर बताइएको छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ ।
पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । निर्देशक गहतराजले यसअघि ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ : भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका फिल्ममा रङ संयोजकको रुपमा काम गरेका छन् ।
प्रतिक्रिया 4