
१ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पाँच विद्यार्थी संगठनले ताला लगाएको एक महिना बढी भयो । विद्यार्थी संगठनहरूले क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईलाई विश्वविद्यालय प्रवेशमा पनि रोक लगाएका छन् । प्रिन्सिपल राईले क्याम्पसबाहिरै बसेर काम गरिरहेका छन् ।
एनपील प्रतियोगिताको पार्किङ शुल्कको विषयमा विद्यार्थी संगठनले २५ मंसिरमा ताला लगाएका थिए । छानबिनको माग राखेर अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैटौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियनले ताला लगाएका हुन् ।
वार्ताको प्रक्रियाअगाडि बढे पनि सहमति जुटेको छैन । ‘छलफल भइरहेको छ । सहमति भएपछि ताला खोल्छौँ,’ त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले भने । एक महिनादेखि ताला लाग्दा दैनिक कामकाज ठप्प छ । ‘शिक्षक कर्मचारीलाई तलब खुवाउने बेला भयो । ताला लागेका कारण दैनिक कामकाज गर्न पाएका छैनौं,’ क्याम्पसका प्रिन्सिपल राईले भने ।
त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोपमा पाँच विद्यार्थी संगठनले छानविनको माग राखेका हुन् । तर, स्ववियुका पदाधिकारीहरूले आफूहरूले शुल्क नउठाएको दाबी गर्दै आएका छन् । यही विषयमा स्ववियूको कार्यालय र रजिस्ट्रार कार्यालयअन्तर्गतको सामान्य प्रशासन महाशाखामा पनि ताला लगाइएको छ ।
त्रिचन्द्रमा आंशिक शिक्षकको ताला, कक्षा बहिस्कार
त्रिचन्द्र बहुमुखी क्याम्पसमा आंशिक शिक्षकले ताला लगाएको एक महिना बित्यो । एक महिनादेखि क्याम्पस प्रमुख प्राध्यापक डा. नीलम श्रेष्ठ प्रधान आफ्नो कार्यकक्षमा जान पाएकी छैनन् ।
आंशिक शिक्षकले १८ महिनादेखि तलब नपाएको भन्दै गत १ पुसदेखि क्याम्पस प्रमुख, लेखा र प्रशासनको कोठामा ताला लगाएका हुन् । ‘वार्ता भए पनि सहमति भएको छैन । तलब पाएका छैनौं,’ आंशिक प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष सतीशचन्द्र झाले भने ।
आंशिक शिक्षकले कक्षा पनि बहिस्कार गरेका छन् । तलब नपाएसम्म नपढाउने अडानमा आंशिक शिक्षक छन् । गत भदौमा २०८० सम्मको सबै तलब दसैंअगाडि र २०८१ वैशाखदेखिको तलब मंसिरसम्म भुक्तानी गर्ने सम्झौता भए पनि कार्यान्वयन नभएको झाले बताए ।
शैक्षिकसत्र २००१/०८२ को नवीकरण गर्नुपर्ने, करारको प्रक्रिया पूरा गर्नुपर्ने, पारिश्रमिकबाट कट्टा गरिएको १५ प्रतिशत कर प्राध्यापकहरूको व्यक्तिगत प्यानमा सुनिश्चित गर्नुपर्नेलगायतका माग आंशिक शिक्षकहरूको छ ।
भक्तपुर क्याम्पसका प्रमुख दुई महिनादेखि बाहिरै
भक्तपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पस प्रमुख कविता लुइँटेललाई क्याम्पस प्रवेशमा रोक लगाएको दुई महिना भयो । क्याम्पस प्रमुख लुईंटेल कार्यकक्षमा जान पाएकी छैनन् ।
क्याम्पसको जग्गा भक्तपुर नगरपालिकलाई दिएको आरोप लगाउँदै स्ववियुले प्रमुख लुइँटेललाई २९ कात्तिकबाट प्रवेशमा रोक लगाएको हो । ‘प्रवेश निषेध भनेको छ । क्याम्पसमा गएर काम गर्न पाएको छैन,’ प्रमुख लुइँटेलले भनिन् ।
गत कात्तिक २८ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजाल, क्याम्पस प्रमुख लुइँटेल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, पुरातत्वका प्रधिननिधिसहित बाटोका लागि २० फिट दिने सहमति भयो । उक्त सहमतिमा असहमति जनाउँदै स्ववियुले क्याम्पस प्रमुखलाई प्रवेशमा रोक लगाएको हो ।
‘प्रवेशमा मात्र रोक लगाएका छौँ । अन्य कामकाजमा असर पुर्याएको छैन,’ स्ववियु सभापति पुकार पराजुलीले भने, ‘कलेजको जग्गा नगरपालिकालाई दिन मिल्दैन । दिने हो भने त्रिविको कार्यकारी परिषद्बाट निर्णय हुनुपर्छ ।’
त्रिविले विद्यार्थीसँग सहमति गर्न विद्यार्थी कल्याण परिषद्का सदस्यसचिव पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति बनाएको छ । तर, सहमति जुटेको छैन । ‘सबै पक्षसँग छलफल गरिरहेका छौं । प्रमुख जिल्ला अधिकारीले पनि सहमतिको प्रयास गरिरहनुभएको छ,’ अधिकारीले भने, ‘सहमति जुटाउन बुधबार बैठक राखेका छौँ ।’
प्रतिक्रिया 4