
२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाले बनाएको समाजवादी मोर्चाको विषयले विपक्षी दलको बैठकमा पनि प्रवेश पाएको छ ।
बुधबार (आज) सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चाबारे केहीबेर ब्रिफिङ गरेका थिए ।
पछिल्लो समसामयिक विषयको जानकारी गराउने क्रममा उनले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताउँदै विपक्षी दलहरू एकजुट हुनुपर्ने तर्क गरे ।
उनले समाजवादी मोर्चा पनि त्यही अनुसार सक्रिय भइरहेको जिकिर गरेको एक नेताले बताए ।
उपेन्द्रसँगको छलफल सकारात्मक भएको भन्दै नेपालले विपक्षी दल र समाजवादी मोर्चामा जोडिन उत्साहित भएको ब्रिफिङ गरेका छन् ।
‘उपेन्द्रजी समाजवादी मोर्चा र विपक्षी दलको बैठकमा जोडिन उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘पार्टी विभाजनको मुद्दा अदालतबाट टुंगिएपछि समाजवादी मोर्चामा एक्टिभ हुन्छु भनेर भन्नुभएको छ ।’
समाजवादी मोर्चाको बैठक पनि आज बसिरहेको छ । उक्त बैठकको उपेन्द्र सहभागी छैनन् । पछिल्लो समय उपेन्द्र नेतृत्वको दल समाजवादी मोर्चामा सक्रिय छैन । ४ असार २०८० मा मोर्चा बनाउँदा भने उनी सहभागी थिए ।
यसअघि मोर्चामा उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई दिएको थियो ।
अशोक राईले पार्टी विभाजन गरेपछि यादव त्यसविरुद्ध अदालत गएका थिए । उक्त मुद्दामा सुनुवाइको पेसी नजिकिँदै गएको जानकारी गराउँदै उपेन्द्रले आफू त्यसपछि सक्रिय हुने बताएका हुन् ।
प्रतिक्रिया 4