+
+

थमन विक हत्या प्रकरणको मुद्दा : १३औं पटक पनि पेसी स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते २०:५५

२ माघ, जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दामा तेह्रौं पटक तोकिएको पेसी पनि सरेको छ ।

१३ औं पटक आज पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा परेको यो मुद्दाको पेसी अगामी माघ २३ गतेको लागि सरेको अदालतले स्रोतले जनाएको छ ।

०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका सांसद शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा दर्ता गराएको मुद्दाको पेशी पटकपटक स्थगित हुँदै आएको छ ।

यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेसी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो ।

मधेश प्रदेश सभाले २०८१ वैशाख १८ गते सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा दोषी ठहरिएपछि सांसद शर्मालाई निलम्बन गरेको थियो ।

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ मा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले जन्मकैदको सजाय सुनाएको थियो ।

इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो ।

दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ मा महोत्तरीमा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । सो प्रकरणमा २०७२ फागुन २७ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?