+
+

अखिल क्रान्तिकारीका अपत्यारिला गतिविधि र उमेर हद

अब विद्यार्थी आन्दोलन हाँक्ने जिम्मेवारी अखिल क्रान्तिकारीका ३२ वर्षसम्मका युवाको काँधमा आएको छ ।

उपदेश यादव उपदेश यादव
२०८१ माघ ३ गते १०:५०

अखिल (क्रान्तिकारी) को  २३ औं राष्ट्रिय सम्मेलन यही २०८१ असोज १० देखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजना भएको थियो । उल्लासमय वातवरणमा सम्मेलनको उदघाटन भएपनि विधान र प्रतिवेदन माथिको बहससँगै नेतृत्व छनौटको लागि उमेरहदको विषय पेचिलो बन्दै जाँदा अनपेक्षित रुपमा सम्मेलन स्थगित हुन पुग्यो । नेतृत्व चयन प्रक्रिया अघि बढाउन गठित निर्वाचन आयोगले केही प्रश्न, केही संशय र केही बहसका बीच अहिले बाँकी प्रक्रिया अगाडि बढाइरहेको छ ।

हिजो सम्मेलन जुन विन्दुमा पुगेर अड्किएको थियो, अहिले त्यसैविन्दुबाट नै अगाडि बढिरहेको छ । आम प्रतिनिधि माझ अहिले पनि कयौं प्रश्न र आशंका छन् । के यो प्रक्रियाले २३ औं राष्ट्रिय सम्मेलनका बाँकी कार्यभारहरू पूरा गर्न सक्ला ? के यो प्रक्रियाले सक्षम विद्यार्थी नेतृत्व दिन सक्ला ? सम्मेलनमा भाँचिएका मनहरूलाई कसरी जोड्ला ? उत्साह सहित सम्मेलनमा सहभागी भएर बिचमै सम्मेलन स्थगन गरेर घर फर्केका प्रतिनिधिहरूलाई कसरी उत्साहित गर्ला ? उमेरकै कारणले संगठनको नेतृत्व गर्नबाट वञ्चित भएकालाई कसरी न्याय गर्ला ? यी र यस्ता कयौं प्रश्नहरूको बीचमा हामीले २३ औं राष्ट्रिय सम्मेलनका बाँकी कार्यभार सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाइरहेका छौं ।

अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक ३२ वर्षे उमेर हद लगाएर नेतृत्व चयन गरिँदै छ । त्यसैले यी तमाम प्रक्रियालाई संगठनभित्र र बाहिरका आम विद्यार्थीहरूले उत्सुकतापूर्वक हेरिरहेका छन् ।

कार्यान्वयनतिर उमेरहद प्रक्रिया

सामान्यतया राष्ट्रिय सम्मेलनको शुरुवात् क्याम्पस, जिल्ला र प्रदेश सम्मेलनसँगसँगै भएको मानिन्छ । अधिकांश प्रदेश समिति र जिल्ला समितिहरूले सम्मेलन सम्पन्न गरिसकेका र आफ्ना प्रतिनिधिहरु समेत छनोट गरी राष्ट्रिय सम्मेलनको उदघाटन सत्र सम्पन्न भइसक्दा राष्ट्रिय सम्मेलनको ७५ प्रतिशत काम सम्पन्न भइसकेको हुन्छ । यस अवस्थामा राष्ट्रिय सम्मेलनको नियम बदलेर नेतृत्वका आकांक्षी र दावेदारहरूलाई प्रतिस्पर्धामा सामेल हुने अवसरबाट समेत वञ्चित गराउनु उचित होइन ।

सहमतिमा नेतृत्व छनोट गर्न नसक्दा निर्वाचनको विधिबाट नेतृत्व छान्न सकिने कुरा २१ औं राष्ट्रिय सम्मेलनबाट नै अभ्यास गरिसकिएको हुँदा यो विषय नयाँ थिएन । २३ औं राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधि र नेतृत्वका आकांक्षीहरू पनि यो प्रक्रियाबाट नेतृत्व छान्न र छानिन तयार हुँदै सम्मेलनमा सामेल थिए ।

तर २३ औं राष्ट्रिय सम्मेलनमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्न उमेरहद तोकिनुपर्ने विषयले प्रवेश गर्यो । अवश्य पनि संगठनमा नेतृत्वको चाङ हुनु, आकांक्षीहरू धेरै हुनु, कमिटी ठूला र भद्दा हुनु, कुनै पनि विद्यार्थी नेतालाई बिदा गर्नै नसक्ने जस्ता कुरा समस्याको रुपमा थिए ।

प्रत्यक्ष निर्वाचनको माध्यमबाट नेतृत्व छनौट गर्दा यो समस्या धेरैहदसम्म हल हुन सक्दथ्यो । तर सम्मेलनको बीचमा उमेरहदको सवाल निकै पेचिलो बनेर आयो । यही विषयले सम्मेलनका प्रतिनिधिहरूलाई तरङ्गित पनि बनायो । सम्मेलनको हलमा केही अस्वाभाविक र अपत्यारिला गतिविधिहरू पनि भए । ती घटनाहरू जे जसरी भए पनि कमजोरी नै हुन् । आगामी दिनमा संगठनले यस्ता घटनाहरु नहोउन् भनेर विशेष ध्यान पुर्याउनुपर्छ ।

विद्यार्थी आन्दोलनमै बसेर ३२ वर्ष काट्नु उहाँहरूको दोष होइन । समयमा पार्टीका भेला सम्मेलनहरू नहुनु र कार्यकाल थपिँदै जानुको परिणाम हो यो ।

अखिल (क्रान्तिकारी) को नेतृत्वमा रहन ३२ वर्षे उमेहद कायम राख्ने की उमेरहद खुला राख्ने भन्नेमा जिल्ला–जिलामा पहिलोपटक मतदान भयो । पहिलो चरणमा यही विषयकै निरुपणका लागि मतदान प्रक्रिया अगाडि बढाइयो । मङ्सिरको २७ गते ७७ वटा जिल्लामा मतदान केन्द्र तोक्दै सम्मेलनमा छनोट भएका प्रतिनिधिहरूले उमेर हदको र खुल्लाको पक्षमा मतदान गर्ने प्रक्रिया सुरुवात् भयो । कुल १ हजार ७ सय ७९ प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिएकोमा ९ सय मत उमेरहदको पक्षमा र ८ सय ७९ उमेरहदको विपक्षमा देखापर्यो । झिनो मत उमेरहदको पक्षमा देखिएसँगै संगठनमा ३२ वर्ष उमेरहद लगाउने निर्णय गर्दै नेतृत्व निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

नेकपा माओवादी केन्द्रको पुस २१ देखि २४ गतेसम्म सञ्चालन भएको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूको उमेरहद लाउने र खुल्लामा जाने विषयको निर्वाचनमा केही ठाउँमा पार्टीको हस्तक्षेप भएको रिपोर्ट आएकाले पार्टीले उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने र हाल आएको निर्वाचनको परिणामलाई स्वीकार गरी विद्यार्थीको नेतृत्व निर्माणको प्रक्रिया अगाडि बढाउने भनिसकेकाले अब विद्यार्थी आन्दोलन हाँक्ने जिम्मेवारी अखिल क्रान्तिकारीका ३२ वर्षसम्मका युवाको काँधमा आएको छ ।

नेताहरुको उचित व्यवस्थापन

हुनत हरेक राष्ट्रिय सम्मेलनबाट ठूलो संख्यामा विद्यार्थी नेताहरु बिदा हुने गरेकै थिए । तर यसपटक उमेरहदका कारण त्योभन्दा पनि ठूलो संख्यामा विद्यार्थी नेताहरु बिदा हुने स्थिति छ । २१ औं राष्ट्रिय सम्मेलनमा पनि निर्वाचनको विधिबाट नेतृत्व छनौट गर्दा पराजित भएको ठूलो पङ्ति बिदा भएको थियो । स्वाभाविक रुपमा जित्नेहरूले विद्यार्थीको नेतृत्व सम्हाल्नु भयो र पराजित हुनेहरू विद्यार्थीको राजनीतिबाट बिदा हुनुभयो । उहाँहरूको जिम्मेवारीमा पार्टीले उचित ध्यान दिएन ।

२२ औं राष्ट्रिय सम्मेलनबाट पञ्चा सिंहलाई अध्यक्ष बनाइयो । अखिल क्रान्तिकारीले पहिलोपटक महिला नेतृत्व पायो । विद्यार्थी आन्दोलनवाट बिदा हुने अन्य जिम्मेवार कमरेडहरुलाई पार्टीले केन्द्रीय प्रतिनिधि हुँदै केन्द्रीय समिति सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । यसपटक उमेरहदका कारण धेरै नेता कार्यकर्ता विद्यार्थी संगठनको जिम्मेवारीबाट बाहिरिँदै हुनुहुन्छ । पार्टी र संगठनका लागि लामो समय त्याग, समर्पण र बलिदानीपूर्ण इँटा थप्नु भएका उहाँहरूको योगदानको उचित कदर गर्दै पार्टीले उचित भूमिका दिन जरुरी छ ।

किनकी विद्यार्थी आन्दोलनमै बसेर ३२ वर्ष काट्नु उहाँहरूको दोष होइन । समयमा पार्टीका भेला सम्मेलनहरू नहुनु र कार्यकाल थपिँदै जानुको परिणाम हो यो ।

यसर्थ करिब १५–२० वर्षसम्म विद्यार्थी आन्दोलनमा सक्रिय भएर काम गर्दै नेतृत्व छनौटको प्रक्रियामा बाहिरिनु परेका आन्दोलनका नेताहरुलाई पार्टीले उचित जिम्मेवारी दिनैपर्दछ । आजका दिनमा पनि यो सम्मेलन सम्पन्न गराउन उहाँहरूको सक्रिय सहभागिता अनिवार्य छ र यसमा पार्टीले परिचालन गर्न सक्नुपर्दछ ।

अन्त्यमा,

संगठनको जीवनमा नै हामीले पहिलोपटक सांगठनिक जिम्मेवारी लिनका लागि उमेरहद तोकेका छौं । सांगठनिक जीवनको निरन्तरतामा होइन, क्रमभङ्गतामा हामी संगठनको नेता चुन्दैछौं र चुनिँदैछौं । यसकारण हाम्रो पुस्ताले एक कदम अगाडि बढेर संगठनको नेतृत्वको दाबी गर्ने अवसर पाएको छ । यो अवसरलाई सदुपयोग गर्नुपर्दछ ।

अवश्य पनि २३ औँ राष्ट्रिय सम्मेलनको दौरानमा हामी केही अल्मलियौं, केही चुक्यौं र केही लड्यौं । अब उठेर धुलो टकटक्याउँदै आफ्नो मञ्जिलमा दगुर्नुपर्नेछ । निर्वाचन मार्फत् नयाँ नेतृत्व चयन गरेर आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनका लागि रहरलाग्दो, डरलाग्दो र भरलाग्दो संगठन निर्माणमा जुट्नुपर्दछ । यो नै अहिलेको आवश्यकता र इतिहासले हामीलाई सुम्पिएको जिम्मेवारी हो ।

(लेखक यादव अखिल क्रान्तिकारीका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?