+
+

भुटानी नेपालीको कथामा फिल्म ‘ल्हो-छाम्पा’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १५:२९

काठमाडौँ । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटानी शरणार्थीको कथामा कथानक फिल्म ‘ल्हो-छाम्पा’ बन्ने भएको छ । फिल्मले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई प्रस्तत गर्नेछ । ‘ल्हो-छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो ।

फिल्मलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदो पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ फिल्म निर्माणमा अग्रसर भएको बताएका छन् ।

‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो फिल्म निर्माण गरेका हौँ । तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ,’ सुवेदीको भनाइ छ ।

फिल्मलाई ‘डाइङ क्यान्डल’ फेम्ड नरेशकुमार केसीले निर्देशन गर्नेछन् । उनको यो तेस्रो निर्देशकीय फिल्म हुनेछ । केसीले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ निर्देशन गरेका थिए । तेस्रो फिल्मले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए ।

‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ । यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ’, केसीले भने ।

फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत हुनेछ । संगीतकार पोखरेलले फिल्ममा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी गराए । कलाकार र प्राविधिकको टुंगो लाग्न बाँकी छ । बैशाख दोस्रो हप्तादेखि छायांकनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?