+
+
Shares
काठमाडौं विश्वविद्यालय :

छनोट समिति संयोजकका भान्जा पनि भीसीका उम्मेदवार

प्रा.डा. नवीन पोखरेल र प्रा.डा. मनीष पोखरेलले उपकुलपतिका लागि उम्मेदवारी दिएपछि संयोजक सुरेशराज शर्मामाथि पनि प्रश्न उठेको हो । नवीन उनका आफ्नै भान्जा हुन् भने मनीष नजिकैका नातेदार पर्छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ माघ ३ गते २२:३०
छनोट समितिका संयोजक एवं पूर्वउपकुलपति सुरेशराज शर्मा

३ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि छनोट समितिका संयोजक एवं पूर्वउपकुलपति सुरेशराज शर्माका भान्जाले पनि आवेदन दिएपछि उनीमाथि प्रश्न उठेको छ ।

१७ जनाले आवेदन दिएकोमा १६ जनाको नाम छनोट समितिले बुधबार स्वीकृत गरी सार्वजनिक गरेको थियो ।

प्रा.डा. नवीन पोखरेल र प्रा.डा. मनीष पोखरेलले उपकुलपतिका लागि उम्मेदवारी दिएपछि संयोजक शर्मामाथि पनि प्रश्न उठेको हो । उनीहरु दुवै शर्माका भान्जा हुन् ।

‘नातेदारले उपकुलपतिमा आवेदन दिएपछि संयोजकको रुपमा शर्मा सर बस्न मिल्दैन । कार्यविधिमा पनि स्पष्ट रुपमा नमिल्ने भनेको छ,’ स्रोतले अनलाइखबरसँग भन्यो ।

कार्यविधिको परिभाषामा पनि यसबारे उल्लेख गरिएको छ ।

‘नजिकका नातेदार’ भन्नाले एकाघरको परिवारको सदस्य वा प्रचलित कानुनमा स्वार्थको द्वन्द्व हुनेगरी परिवारको सदस्यको रुपमा परिभाषित गरिएको नाता सम्बन्धको नातेदार सम्झनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिको बुँदा १२ मा नातेदारले उम्मेदवारी दिएमा मूल्यांकन प्रक्रियामा समावेश हुन नपाउनेसमेत उल्लेख छ ।

‘समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदारले उपकुलपतिको पदमा दरखास्त पेश गरेको अवस्थामा त्यस्तो सदस्य वा विज्ञ मुल्यांकन प्रक्रियामा सहभागी हुन हुँदैन,’ कार्यविधिमा भनिएको छ ।

संयोजकको नातेदारले उम्मेदवारी दिएमा के गर्ने भन्ने निर्णय लिने अधिकार भने कुलपतिलाई दिनपर्ने भएको छ ।

‘समितिका अध्यक्ष तथा सदस्यको हकमा कुलपतिबाट र उपसमिति वा अन्य कुनै विज्ञको हकमा समितिबाट व्यवस्था भए बमोजिम हुनेछ,’ कार्यविधिमा भनिएको छ ।

जस अनुसार अब यो विषयको निर्णय प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले गर्नुपर्ने भएको छ ।

संयोजक शर्मामाथि प्रश्न उठेकाले अबको प्रक्रियामा बस्न नमिल्ने केयूका अधिकारीहरू बताउँछन् ।

‘नातेदारले आवेदन दिएपछि छनोट समितिमा उहाँ (सुरेशराज शर्मा) बस्न मिल्दैन,’ केयूका एक अधिकारीले भने, ‘प्रा.डा. नवीन र प्रा.डा. मनीष उपकुलपतिका लागि योग्य हुनुहुन्छ । तर नातेदार उम्मेदवार भएपछि छनोट समितिका संयोजकमाथि मात्र प्रश्न उठेको हो ।’

प्रा.डा. नवीन नेपाल मेडिकल कलेजमा कार्यरत छन् भने प्रा.डा. मनीष केयूको स्कुल अफ इन्जिनियरिङको डीन छन् । प्रा.डा. नवीन पोखरेल कार्यविधि अनुसार नै आफूले उपकुलपतिका लागि उम्मेदवारी दिएको बताउँछन् ।

‘भान्जा भएका कारण आवेदन दिएको होइन । पढेर मिहेनत गरेर काम गरेको छु । मापदण्ड पूरा गरेर आवेदन दिएका हौँ,’ उनले प्रश्न गरे, ‘दाजुभाई चाहिँ सक्षम हुन सक्दैनन् र ?’

नजिकको नातेदार भएमा के गर्ने भन्ने विषय कार्यविधिमा भएकाले छनोट समितिको निर्णय आफूहरूलाई मान्य हुने उनी बताउँछन् ।

‘क्षमतावान मानिस आउने हो । नातेदार भएमा के गर्ने भन्नेमा कार्यविधिमा स्पष्ट छ । समितिले गर्ने निर्णय मान्य हुन्छ,’ उनले भने । यो विषयमा समितिका संयोजक र सदस्यहरूले प्रतिक्रिया दिन चाहेनन् । समितिमा प्रा.डा. अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

अब १६ जनामध्येबाट १० जनाको सर्ट लिस्ट सार्वजनिक गर्नुपर्ने हुन्छ । यो प्रक्रियामा छनोट समितिले उम्मेदवारको अन्तर्वार्तासमेत लिनेछ ।

अन्तर्वार्तापछि उपकुलपतिका लागि छनोट समितिले कुलपतिलाई नाम सिफारिस गर्नुपर्ने हुन्छ । कार्यविधि अनुसार भने आफन्तको अन्तर्वार्ता संयोजक शर्माले लिन मिल्दैन ।

यसपटक केयूको उपकुलपति छनोट प्रक्रिया सुरुदेखि नै विवादमा परेको थियो । मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउनेगरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू विरोधमा उत्रिएका थिए ।

कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनिएको छ । तर, यो प्रावधानमा असन्तुष्टि जनाउँदै डाक्टरहरू सर्वोच्च अदालत गएका थिए ।

मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिएपछि डाक्टरहरू अदालत गएका थिए । तर, अदालतले अन्तरिम आदेश जारी नहुने फैसला गरेपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन पाएनन् ।

हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।

समितिले बुधबार स्वीकृत गरी सार्वजनिक गरेको सर्ट लिस्ट:

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?